मण्डेनकाजी दुई स्वर्ण हात पार्ने पहिलो नेपाली, आयशा र पार्वतीलाई पनि स्वर्ण

Advertisement

काठमाडौँ । दक्षिण एसियाली खेलकुद (साग)को एउटै संस्करणमा मण्डेनकाजी श्रेष्ठ दुई स्वर्णपदक जित्ने पहिलो नेपाली बनेका छन् । एघारौं सागमा छनोट भएर पनि खेल्न नपाएका उनले कराँतेमा दुई स्वर्णसहित देशको नाम राख्न सफल भएका छन् ।

सातदोबाटोस्थित कराँते एकेडेमीमा सोमबार भएको व्यक्तिगत र टिम कातामा स्वर्णपदक जित्न सफल भएका श्रेष्ठले आफ्नो विजयको श्रेय छोरीलाई दिएका छन् । उनले छोरी जन्मिएसँगै उनको जीवनमा सफलताहरु देखिन थालेको बताएका छन् ।

गत चैतमा सम्पनन आठौं राष्ट्रिय खेलकुदमा काताको व्यक्तिगत स्पर्धामा स्वर्ण र टिम कातामा पुलिसबाट रजत हात पारेपछि उनलाई राष्ट्रिय टिममा समावेश गरिएको थियो ।

पार्वती र आयशालाई तेक्वान्दोमा स्वर्ण
तेक्वान्दोको पोम्सेतर्फ महिला एकल २३–२९ बर्ष समूहमा पार्वती गुरुङले स्वर्ण पदक हात पार्न सफल भएकी छन् । गुरुङले स्वर्ण जितेकी छिन् भने श्रीलंकाले रजत पदक जितेको छ । पार्वतीले ८.२५० अंक प्राप्त गर्दै स्वर्ण जितेकी हुन् । यस्तै भारतले कास्य पदक जितेको छ ।

त्यस्तै, तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २९ वर्षमाथि उमेर समूहमा नेपालकी आयशा शाक्यले स्वर्ण पदक जित्न सफल भएकी छन् भने भारतले रजत र श्रील‌ंकाले कास्य हात पारेका छन् ।
आयशाले ७.९४ अंक पाएर स्वर्ण हात पारेकी हुन् ।

Advertisement

Advertisement

Advertisement