साग खेलकुदमा नेपाली खेलाडीले ऐतिहासिक सफलता दिलाउने संकेत

Advertisement

काठमाडौं । सन् १९९९ मा नेपालमा सम्पन्न आठौं दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) अझै स्मरणीय बन्ने गर्छ। दुई दशक बितिसक्दा आठौं साफ अविस्मरणीय बन्नु स्वाभाविक पनि छ । त्यतिबेला नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो, जुन सागमा नेपालले हात पारेको सर्वाधिक सफल नतिजा हो। त्यसै संस्करणदेखि सागमा डेब्यु गरेका मार्सल आट्र्सका दुई विधा तेक्वान्दो र कराँतेले सनसनीपूर्ण नतिजा दिएका थिए।

त्यो समय यी दुवैले समान १४।१४ स्वर्ण पदक जितेका थिए। बाँकी तीनमध्ये बक्सिङले दुई तथा पौडीले एक स्वर्ण दिलाएका थिए। तर उक्त संस्करणदेखि यता कराँते र तेक्वान्दोको नतिजा खस्कँदो स्थितिमा छ। त्यसपछिका तीन संस्करण नवौं, दसौं र एघारौंमा तेक्वान्दो र कराँते स्वर्णमा नेपाल खाली हात भने नफर्के पनि पहिलाको साख जोगाउन सकेको थिएन। नेपालले नवौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा ६ स्वर्ण मात्र जितेका थिए। त्यस्तै दसौं संस्करणमा कराँतेमा एक र तेक्वान्दोमा दुई स्वर्ण हात पार्न सफल नेपालले ११औं संस्करणमा कराँतेमा तीन र तेक्वान्दोमा दुई स्वर्णमै चित्त बुझाउनुपरेको थियो। भारतमा सम्पन्न १२औं संस्करणमा कराँते समावेश नभए पनि नेपालको तर्फबाट तेक्वान्दोले एउटा स्वर्ण पनि जित्न सकेन।

भारतभित्र आन्तरिक विवाद भएपछि गत संस्करणमा कराँतेलाई समावेश नगरिएको हो। त्यतिबेला नेपालले तेक्वान्दोमा एउटा स्वर्ण पनि जित्न सकेन। नौ खेलाडी फाइनलसम्म पुगे पनि सबैजना रजत पदकै सीमित हुनुपरेको थियो। सन् १९८४ मा नेपालबाट सुरु भएको दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)ले दसौं संस्करणदेखि दक्षिण एसियाली खेलकुद (साग)को नयाँ नाम पायो।

अहिले १३औं संस्करणका रूपमा तेस्रोपटक क्षेत्रीय खेलकुदको सबैभन्दा ठूलो महोत्सवमा फेरि नेपालका सफल दुई खेल तेक्वान्दो र कराँतेले आसलाग्दो सुरुआत गरेका छन्। यसपटक तेक्वान्दोका २९ स्वर्ण र कराँतेका १९ स्वर्णका लागि प्रतिस्पर्धा हुँदै छ। सोमबार सुरु भएको पहिलो दिनमै तेक्वान्दोको पुम्सेमा १३ स्वर्णका लागि भएको प्रतिस्पर्धामा सात स्वर्ण पनि जित्दै नेपालले दुई दशकअघि सम्पन्न आठौं संस्करणको झझल्को दिएको छ।

फाइटतर्पm नेपालको तेक्वान्दोले १६ स्वर्णका लागि प्रतिस्पर्धा गर्न बाँकी छ। नेपालको कराँतेले पनि नौमध्ये सात स्वर्ण जित्दै नेपाली तेक्वान्दोसँगै दौतरी साँधेको छ। गत एसियाडदेखि अफिसियल प्रतियोगितामा प्रतिस्पर्धा गर्न थालेको पुम्से विधा यसै सागदेखि समावेश भएको हो। त्यसमा नेपालले सुखद सुरुआत गर्दा कुल १३ स्वर्णमध्ये सात स्वर्ण, एक रजत र पाँच कांस्य आफ्नो बनायो।

कराँतेले सात स्वर्णअन्तर्गत कातामा तीन र फाइटमा चार स्वर्ण आफ्नो बनाएको हो। कराँतेले आज (मंगलबार) थप स्वर्णका लागि प्रतिस्पर्धा गर्दा तेक्वान्दोले भने १६ स्वर्ण जित्न चुनौती प्रस्तुत गर्दै छ। दुई दशकअघि घरेलु भूमिमा प्राप्त सफलता दोहो(याउन पनि नेपालका कराँते र तेक्वान्दोबाट आशा गरिएको छ।

नेपालले सोमबार कुल १५ पदक जित्दा तेक्वान्दो खेलाडी आयशा शाक्य र कराँतेका मन्डेकाजी श्रेष्ठले दुई स्वर्ण दिलाए। आयशाले २९ वर्षमाथिको व्यक्तिगत पुम्से र जोडी (सञ्जीवकुमार ओझासँग मिलेर) गरी दुई विधातर्पm स्वर्ण दिलाइन्। मन्डेकाजी व्यक्ति र पुरुष टिम काता (महसुस र प्रवीण मानन्धरसँग मिलेर)मा स्वर्ण पदक जित्न सफल भए। ट्रायथलनमा सोनी गुरुङले इलाइट स्प्रिन्टमा स्वर्ण दिलाएकी हुन्।

नागरिक दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement