पोखरा उद्योग वाणिज्य सङ्घ र सिनिङ शहरका उद्योगी–व्यापारीबीच व्यापार विस्तार गर्ने सहमति

Advertisement

पोखरा । चीनको ‘चाइना काउन्सिल फर द प्रमोशन अफ इण्टरनेशनल ट्रेड’ (सिसिपिटिआई) तथा पोखरा उद्योग वाणिज्य सङ्घका प्रतिनिधिमण्डलबीच द्विपक्षीय व्यापार विस्तार तथा प्रविधि हस्तान्तरणलगायत विषयमा सहकार्य गर्ने सहमति भएको छ ।

सिसिपिटिआईका महासचिव वाङ विरोङको नेतृत्वमा आएको प्रतिनिधिमण्डलसँग पोखरा उद्योग वाणिज्य सङ्घका पदाधिकारी तथा कार्यसमितिका सदस्यबीच सोमबार पोखरामा भएको छलफलपछि सो सहमति भएको हो ।

सिसिपिटिआईका महासचिवको नेतृत्वमा आएको प्रतिनिधिमण्डलमा चीनको कुन्गाइ प्रान्तको सिनिङ शहरका १० उद्योगी–व्यवसायी सहभागी थिए । सिनिङ चीनको पश्चिमी भागमा पर्ने पुरानो शहर हो । तिब्बती पठारमा रहेको यो शहर पुरानो रेशमीमार्गमा पर्ने प्रसिद्ध र अग्लो ठाउँमा रहेको शहरका रूपमा चिनिन्छ । सिसिपिटिआईले चीनका लागि अन्तरराष्ट्रिय व्यापार/व्यवसाय प्रवद्र्धनको काम गर्छ ।

छलफल कार्यक्रममा सिसिपिटिआईका महासचिव वाङले चीन सधैँ छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध गाँस्न र द्विपक्षीय व्यापार गर्न उत्सुक रहेको बताए । उनले पोखरामा हुने हस्तकला तथा अन्य प्राचीन सामान चिनियाँ बजारमा प्रवद्र्धन गर्न सघाउने वचन पनि दिए । उनले सिनिङ शहरमा उत्पादित वस्तु आवश्यक परे नेपालमा निर्यात गर्न तयार रहेको बताउँदै पोखराको पर्यटन प्रवद्र्धनमा सघाउनका लागि नेपाल भ्रमण वर्षको प्रचार गर्ने प्रतिबद्धता प्रकट गरे ।

पोखरा उद्योग वाणिज्य सङ्घका कार्यवाहक अध्यक्ष नारायण कोइरालाले नेपालले चीनबाट विभिन्न सामान आयात गर्दै आएको बताउँदै नेपाली हस्तकला र घरेलु उत्पादन निर्यातका लागि सघाउन चिनियाँ पक्षसँग आग्रह गरे। सो सङ्घका उद्योगतर्फका उपाध्यक्ष विन्दु कोइरालाले चिनियाँ प्रविधि नेपाल भित्र्याउन पोखरा उद्योग वाणिज्य सङ्घले पुलको काम गर्ने बताए ।

सङ्घका महासचिव अर्जुन पोखरेलले गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक पर्यटन वर्ष घोषणा गरी विभिन्न कार्यक्रम गर्दै आएको र सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेकाले चिनियाँ बजारमा नेपालबारे प्रचार गरिदिन पाहुना टोलीसँग आग्रह गरे । सो अवसरमा सङ्घका कार्यसमिति सदस्य ऋषिराम शर्मा, हर्कबहादुर अधिकारी, कीर्तिबल्लभ त्रिपाठी र केशवबहादुर खत्रीले चिनियाँ पक्षसँग सहकार्य गर्न आफुहरु तयार रहेको बताए। अन्तक्र्रिया कार्यक्रममा सहभागी चिनियाँ उद्योगी/व्यवसायीले आफ्ना उत्पादनका बारेमा जानकारी दिँदै नेपाल र पोखरामा भएका उत्पादनको बजारीकरणमा सघाउने वचन दिएका थिए ।

Advertisement

Advertisement

Advertisement