हजारौं विद्यालयलाई 'डिजिटलाइज' गर्दै ई–डिजिटल, सबै काम प्रविधिबाटै

Advertisement

काठमाडौं । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्य छ जसलाई ‘नेपाल भ्रमण वर्ष २०२०’को नाम दिईएको छ । एक जना युवा इञ्जिनियर छन् जसले सन् २०२० भित्र २०२० विद्यालयलाई डिजिटल बनाउने अभियान थालेका छन् । ती युवा इञ्जिनियरको नाम हो आदित्य राज ।

सप्तरी राजविराजस्थित दुर्गा सेकेण्डरी स्कुलबाट एसएलसी उत्रिण गरेपछि इञ्जिनियरिङ पढ्न भारतको देहरादुन गएका आदित्यले त्यहींबाट इलोक्ट्रोनिक्स इन कम्युनिकेशन इञ्जिनियरिङ उत्रिण गरे । त्यसपछि नेपाल फर्किएका उनले किंग्स कलेजबाट एमबीए पास गरे ।

यतिबेला उनी ई–डिजिटल नेपाल प्राली नामको सुचना प्रविधिसम्वन्धी कम्पनी खोलेर देशभरका विद्यालयलाई डिजिटल बनाउने अभियानमा जुटेका छन् । आदित्यको कम्पनी काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘स्मार्ट उर्वन टेक्नोलोजी च्यालेञ्ज’मा महानगरका सामुदायिक विद्यालयलाई डिजिटल बनाउने उपाय अघि सारेर उत्कृष्ट ठहरियो र अहिले उनको टीम काठमाडौं महानगरका ९० वटा सरकारी विद्यालयलाई डिजिटल बनाउने अभियानमा जुटिरहेको छ ।

‘आदित्य भन्छन्, ‘हामी शिक्षा क्षेत्रलाई डिजिटल बनाउन काम गर्छौ । सन् २०१५ बाट यो अभियान सुरु भएको थियो । बीचमा रोकियो र सन् २०१८ बाट पुनः काम आरम्भ गरेका छौं । सन् २०२० मा २०२० वटा विद्यालयलाई डिजिटल बनाउने लक्ष्य छ ।’ ई–डिजिटल नेपालमा एक करोड १२ लाख रुपियाँ लगानी भइसकेको छ । चार जना मिलेर लगानी गरिएको यस कम्पनीमा कपिल बस्नेत, वसन्त गुप्ता र आदित्यसहित अर्को एक जना छन् । ई–डिजिटलमा अहिले ३५ जनाले प्रत्यक्ष रोजगारी पाईरहेका छन् । सबै प्राबिधिक र मार्केटिङका मान्छे छन् ।

कसरी हुन्छ काम ?
ई–डिजिटल नेपालले विद्यालयहरुलाई व्यवस्थापनको सफ्टवेयर उपलब्ध गराउँछ । त्यसमा हाजिरी गर्ने उपकरण, मोनिटरिङ सफ्टवेयर उपलब्ध गराउँछ जसबाट विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र अभिभावकहरुको हातमा सिधै सूचना उपलब्ध गराउन सकिन्छ । अहिले कम्पनीले देशभरका चार सय भन्दा बढी विद्यालयहरुमा यस्तो सफ्टवेयर जडान गरिसकेको छ । पूर्वी पहाड र तराईका गरि ३० जिल्लामा सेवा फैलिएको छ ।

आदित्य भन्छन्, ‘हाम्रो सफ्टवेयर जडान गरेपछि शिक्षक र विद्यार्थी समयमा स्कुल आए की आएनन् ? भनेर तुरुन्तै चेक गर्न मिल्छ । यसमा बायोमेट्रिक हाजिरी हुन्छ । आफ्नो स्थानीय तहको कुन विद्यालयमा को को शिक्षक र विद्यार्थी कुन कुन समयमा विद्यालय पुगे ? भनेर नगरपालिका वा गाउँपालिकाको कार्यालयमा बसेर हेर्न सकिन्छ ।’

कुनै शिक्षक १२ बजे स्कुल गएर १० बजे आएको भनेर हाजिर गर्ने चलन अन्त्य हुनेछ । दुई दिन स्कुल नगएर तेस्रो दिन जाने अनि पूरै दिनको हाजिर गर्ने चलनको पनि यसले अन्त्य गर्नेछ । अभिभावकहरुले आफ्ना सन्तान स्कुल गयो वा गएन ? भन्ने कुरा एपको माध्यमबाट तुरुन्तै थाहा पाउँछन् ।

यस प्रविधिबाट विद्यालय व्यवस्थापनले शिक्षक र विद्यार्थीका एकीकृत र डिजिटल जानकारी तुरुन्तै लिएर मोनिटरिङ गर्न सक्छन् । ‘यसमा डिजिटल हाजिर, डिजिटल एजुकेशन (पढाई), डिजिटल लाइब्रेरीको काम एकै पटक गर्छौ । लाइब्रेरीमा कुन पुस्तक कहाँ छ ? भनेर खोज्नु भन्दा मोबाइल एपमार्फत बुकको विषय वा नाम थिचेपछि कुन लाइनको कति नम्बरमा छ ? आफैं देखाउँछ’, आदित्यले भने ।

त्यति मात्रै होइन, विद्यार्थी र उसका अभिभावकलाई मार्कसिट, हाजिरी विवरण सबै सफ्टवेयरबाटै हेर्नसक्ने सुविधा पनि यस प्रविधिले दिन्छ । शिक्षकले पनि सबै सूचना सफ्टवेयरबाटै हेर्न सक्छन् । प्रशासनले एकाउण्ट पनि व्यवस्थापन पनि गर्न सक्छ । सबैको आ–आफ्नै लग–इनमार्फत सेवा दिन र लिन सक्छन् ।

स्थानीय तहले पनि आफ्नो कार्य क्षेत्रमा कति वटा विद्यालय छन् ? कति विद्यार्थी छन् ? उमेर समूह के हो ? कुन जातजातिका कति छन् ? लगायतका विवरण तुरुन्तै हेर्न सक्छन । कति विद्यार्थी भर्ना भए ? कतिले विद्यालय छाडे ? जस्ता सबै जानकारी यसबाट पाउन सकिन्छ ।

प्रदेश सरकारले आफ्नो प्रदेश भित्रका विद्यालयहरुको सूचना लिएर भावी योजना बनाउन सक्छ । केन्द्रले पनि त्यस्तो सूचना संकलन गरेर राष्ट्रिय रणनीति बनाउन सक्ने आदित्यको भनाई छ ।

विद्यालयको जनशक्ति व्यवस्थापन
विद्यालयहरुमा हातले लेख्ने बानी हुन्छ । कम्प्युटरमा लेख्न मुस्किल हुन्छ । तर ई–डिजिटलले त्यसका लागि तालिम दिन्छ, त्यो पनि न्यूनतम् शुल्कमा । उनी भन्छन्, ‘हरेक नगरपालिकामा एक जना जनशक्ति हाम्रो तर्फबाट राखिदिन्छौं । हरेक विद्यालयमा मान्छे पठाएर हाम्रो सिस्टममा काम गर्न सिकाउँछौं ।’

शुल्क कति ?
ई–डिजिटलको सेवा इलाम र फिदिमका स्थानीय तहले पनि लिएका छन् । झापा, विराटनगर, रौतहट, सुनसरीमा पनि काम भइरहेको छ । आदित्य भन्छन्, ‘हामीले १५० वटा सरकारी विद्यालय नेटवर्कमा ल्याएका छौं, एउटा विद्यार्थीबाट एक वर्षका लागि एक सय रुपियाँ शुल्क लिन्छौं ।’ जडान गरिएको दोस्रो वर्षदेखि १० हजार रुपियाँ नवीकरण शुल्क मात्रै लिने उनले बताए ।

अहिले सेवा, पछि नाफा
ई–डिजिटलले अहिले नाफाका लागि काम गरिरहेका छैन् । नगन्य शुल्कमा सेवा दिएर बजार विस्तारलाई जोड दिइरहेको छ । गुणस्तरलाई प्राथमिकता दिएको छ । ‘अहिले डिजिटल म्यानेजमेन्टका लागि पूर्वाधार बनाउने हो । पछि नाफा पनि पक्कै आउनेछ’, उनले भने । ई–डिजिटलले काठमाडौंमा डिएभी, ग्लासिएर स्कुल जस्ता ठूला संस्थाहरुमा आफ्नो सफ्टवेयर विस्तार गरिसकेको छ ।

अफ लाइन पनि काम
ई–डिजिटल प्रणाली इन्टरनेट नहुँदा पनि चल्छ । इन्टरनेट जोडेपछि मात्रै डाटा हेर्न मिल्छ । तर काम भने अफलाइन पनि गर्न मिल्छ ।

Advertisement

Advertisement

Advertisement