फ्रान्सेली सामानमा करवृद्धि गर्ने योजना, ‘अमेरिकी कम्पनी लक्षित कर विरुद्ध कठोर कदम’

Advertisement

वासिङ्टन । अमेरिकी ट्रम्प प्रशासनले करिब २ अर्ब ४० करोड अमेरिकी डलर बराबरका फ्रान्सेली सामानमा शत प्रतिशत करवृद्धि गर्ने योजनामाथि विचार गरिरहेको छ ।

अमेरिकी कम्पनीहरु गूगल, एप्पल, फेसबुक र अमेजनमाथि डिजिटल करका रुपमा फ्रान्समा अत्याधिक करको भार थोपरिएको अनुसन्धानबाट खुलेपछि अमेरिकी प्रशासनले प्रतिशोधस्वरुप करवृद्धिको योजना बनाएको बताइएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजरले जारी गरेको पछिल्लो वक्तव्यमा फ्रान्सले लगाएको डिजिटल करका विरुद्ध कठोर कदम चाल्न अमेरिका बाध्य हुने उल्लेख छ । उनले अमेरिकी कम्पनीमाथि लक्षित गरी विभेदपूर्ण रुपमा कर लगाइएको वा निरुत्साहित गर्न खोजिएको अनुसन्धानबाट थाहा भएको बताए ।

अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले गत जुलाईमा फ्रान्सेली करसम्बन्धी व्यवस्थाका बारेमा अनुसन्धान गर्ने जनाएको थियो । यो अनुसन्धान अमेरिकी व्यापार कानुन १९७४ को खण्ड ३०१ बमोजिम गरिएको थियो । अमेरिकाले चिनियाँ सामानमाथि करवृद्धि गर्ने प्रस्ताव पनि यही कानुन बमोजिम गरेको थियो । अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले फ्रान्सेली कर विवाद टुङ्ग्याउन अमेरिका र फ्रान्सबीच मध्यस्थ वार्ता गर्न दिएको ९० दिनको समयावधि पनि समाप्त भएको जनाएको छ ।

फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याँक्रोले गत जुलाईमा डिजिटल सेवा प्रदायक कम्पनीमाथि ३ प्रतिशत कर लगाउने एउटा कानुनमा हस्ताक्षर गरेका थिए । उक्त कानुनले आफ्नो व्यवसायमा असर पर्ने भन्दै अमेरिकी प्रविधि कम्पनीहरु गूगल, फेसबुक र अमेजनले विरोध गरेका थिए । अमेरिकी करवृद्धि योजनामा फ्रान्सेली वाइन, चिज, मेकअप र ह्यान्डब्याग समेतका सामग्री समेटिएका छन् । रासस/एएनआई

Advertisement

Advertisement

Advertisement