नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा व्यक्तिको स्वामित्व पत्र नहुँदा जग्गा अधिग्रहण हुनसकेन

Advertisement

काठमाडौं । नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारी भइरहँदा आवश्यक जग्गा अधिग्रहण हुन सकेको छैन । निर्माणाधीन सुरुङमार्गको धादिङतर्फको जग्गामा व्यक्तिको स्वामित्व पत्र नहुँदा अधिग्रहण गर्न नसकिएको हो । धादिङको धुनिबेँशी नगरपालिकामा झण्डै २५ रोपनी जग्गा अधिग्रहण गर्न समस्या रहेको सडक विभाग, विकास समन्वय कार्यन्वयन महाशाका प्रमुख अर्जुनजङ्ग थापाले बताए ।

उनका अनुसार सुरुङमार्ग निर्माणस्थलमा जग्गाको पूर्जा भएका व्यक्ति मुआब्जा लिइरहेका छन् भने पूर्जा नभएको जग्गामा समस्या देखिएको छ । झण्डै २० व्यक्तिले आफ्नो जग्गा भनी दाबी गरेपनि उनीहरुसँग प्रमाण नभएको उनले बताए । उनले भने, ‘जग्गाको समस्या कसरी समाधान गर्न सकिन्छ भनेर हामी नियमित छलफलमा छौँ ।’

जग्गाको अधिग्रहण गर्न बाँकी रहेका बाहेक सुरुङमार्ग निर्माणमा अरु किसिमको अवरोध नभएको प्रमुख थापाले बताए । निर्माणका लागि तोकिएको अवधि ४२ महिनामा जग्गा खाली गराउनेदेखि निर्माण सम्पन्न भइसक्ने उनको दाबी छ । त्यससँगै बलम्बुमा ‘फ्लाई ओभर’ निर्माण गर्नका लागि जग्गा अधिग्रहण गर्न बाँकी रहेको बताइएको छ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको गत चार कात्तिकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिल्यान्यास गरेका थिए । झण्डै डेढ दशक पहिले कल्पना गरिएको भए पनि आर्थिक व्यवस्थापनलगायतका कारणले सुरुङमार्ग निर्माणको योजना बन्न सकेको थिएन । जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)ले आर्थिक र प्राविधिक सहयोग गर्ने भएसँगै सरकारसँग गत महिना निर्माण सम्झौता भएको थियो । गत महिना सरकार र जापानी निर्माण संस्था हाजमा आङदो कर्पोरेशनबीच सुरुङमार्ग निर्माणका लागि सम्झौता भएको थियो ।

Advertisement

Advertisement

Advertisement