महिला फुटबलमा नेपालको विजयी शुरुवात

Advertisement

कास्की । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)अन्तर्गतको महिला फुटबल प्रतियोगिताको मंगलबार सम्पन्न भएको पहिलो खेलमा नेपालले विजयी शुरुवात गरेको छ ।

पोखरा रङ्गशालामा सम्पन्न भएको खेलमा नेपालले प्रतिद्वन्द्वी श्रीलङ्कालाई १–० ले पराजित गरेको हो । नेपालले पूरा समय श्रीलङ्कालाई दवावमा राखेको भए पनि खेलको अन्तिम मिनेटमा गोल गर्न सफल भयो ।

नेपालका लागि सरु लिम्बूले ८८औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी हुन् । खेलको १५औं मिनेटमा सावित्रा भण्डारीले डिबक्सभित्र पाएको अवसरलाई सही दिशा दिन सकिनन् । श्रीलङ्काले खेल अवधिभर रक्षात्मक खेल खेलेको थियो । सो अवसरमा नेपाली खेलाडीहरूले पटक पटक डिबक्सभित्र पाएको राम्रो अवसरलाई सदुपयोग गर्न सकेका थिएनन् ।

टोलीका क्याप्टेन निरु थापाले खेलको ३८औं मिनेटमा हानेको प्रहारलाई श्रीलङ्काका गोलकिपर अयोमी विजेराथनाले सहजै विफल पारिन। खेल अवधिभर नेपालले दवाव राखेको भए पनि नतिजा निकाल्न नसकेपछि नेपाली महिला टोलीका मुख्य प्रशिक्षक हरि खड्काले खेलको ३२औं मिनेटमा दीपा राई मैदानबाहिर निकालेर सरु लिम्बूलाई मैदानभित्र उतारेका थिए ।

पाएको धेरै अवसरलाई सदुपयोग गर्न सकेनौँः हरि खड्का
नेपाली महिला फुटबल टोलीका मुख्य प्रशिक्षक खड्काले आज भएको श्रीलङ्का विरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गरेको बताए । जितका लागि अन्तिम समय कुर्नुपरेकामा भने उहाँले विपक्षीको ‘डिफेन्सिभ’ राम्रो भएको बताए ।

खड्काले भने, “हामीले ‘अट्याकिङ’ खेलेका थियौँ । तर श्रीलङ्काको डिफेन्सिभ खेलले जितका लागि अन्तिम समय कुर्नुपरेको हो । तर आजको समग्र खेललाई हेर्ने हो भने पनि हाम्रै उत्कृष्ट थियो ।” उनले गोल गर्ने सरु लिम्बूले अट्याकिङ भूमिका राम्रो निभाएकाले खेल सम्भव भएको बताए ।

Advertisement

Advertisement

Advertisement