भिजिट इयर २०२० लाई नारायणी नदीमा २५० जना बोक्ने जहाज तयार

Advertisement

काठमाडौं । भिजिट नेपाल २०२० देखि नारायणी नदीमा पानी जहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालीले १५ करोड लगानीमा २५० जना क्षमताको मिनी पानी जहाज सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको हो ।

कम्पनीका सञ्चालक डा. शंकर खतिवडाका अनुसार आगामी हप्ता नारायणी नदिमा पानी जहाजको परिक्षण सञ्चालन गरिनेछ । आगामी जनवरी १ तारिखका दिन राष्ट्रपति र प्रधानमन्त्रीबाट उद्घाटन गराउने तयारी छ । ‘जनवरी पहिलो तारिखका दिन औपचारिक सेवा आरम्भ गर्ने तयारी गरेका छौं, एक हप्तापछि परिक्षण सञ्चालन गरिनेछ’, सञ्चालक खतिवडाले भने ।

३८ किलोमिटर पानी जहाजमा सरर....
पानी जहाज कार्यालयबाट कम्पनीले ३८ किलोमिटर दुरीमा जहाज सञ्चालनको अनुमति पाएको छ ।  कम्पनीले गोलाघाटदेखि देवघाटसम्मको दुरीमा जहाज सञ्चालन गर्नेछ ।

नर्वेको प्रविधि, भारतीय निर्माता
पानी जहाज निर्माणका लागि नर्वेजियन प्रबिधिको प्रयोग गरिएको खतिवडाले बताए । तर दक्षिण भारतीय राज्य केरलाका प्राविधिकहरु निर्माण कार्यमा संलग्न छन् । उनीहरुले नै आगामी ६ महिनासम्म नेपाली प्राविधिकहरुलाई तामिल दिएर सञ्चालनको पूर्ण जिम्मा सुम्पिनेछन् ।

‘६ महिनासम्म उनीहरुले नै सञ्चालन गरिदिन्छन्, त्यसको त्यस अवधीमा हाम्रा जनशक्तिले सिकेर आफैं सञ्चालन गर्नेछन् । हामी तालिम केन्द्र खोलेर जनशक्ति तयार पार्छाै’, खतिवडाले भने । डिजेल इञ्जिनको पानी जहाजमा २ वटा इञ्जिन रहनेछन् ।

३ सिफ्ट चल्ने, ब्रेक फास्ट देखि डिनरसम्म
कम्पनीले ३ वटा सिफ्टमा जहाज सञ्चालनको योजना बनाएको छ । पहिले सिफ्टमा ब्रेक फास्टसहितको प्याकेज हुनेछ । दोश्रो सिफ्टमा लञ्च र साँझ डिनरसहितको प्याकेज तयार भैरहेका छन् । ‘हामीले ब्रेक फस्ट देखि डिनरसम्मको प्याकेज तयार पारेका छौं, आफु अनुकुल उपयोग गर्न सकिन्छ’, खतिवडाले भने ।

२ जेट बोट थपिँदै
कम्पनीले तत्कालै २ वटा जेट बोट थप्ने योजना बनाएको छ । ५० जना यात्रु अट्ने एउटा र अर्काे एक सय जना यात्रु बोक्ने गरि जेट बोट थप्ने तयारी गरिएको पनि उनले जानकारी दिए ।

काभ्रे घाटमा पोर्ट र रिसोर्ट
चितवनकै काभ्रे घाटमा पानी जहाजका लागि पोर्ट निर्माण गरिएको छ । पोर्टसँगै १० करोड लगानीमा रिसोर्ट पनि बन्दैछ । पानी जहाजको सफरपछि रिसोर्टमा बसेर आनन्द लिन सकिने सुविधासहितको कम्प्लिट प्याकेज तयार हुने उनले बताए ।

Advertisement

Advertisement

Advertisement