३१ देशका राजदुतलाई मन्त्रालयमै बोलाएर के भने पर्यटन मन्त्री योगेश भट्टराईले ?

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ३१ देशका राजदुत तथा ५ वटा वैदेशिक साझेदार संस्थाका प्रमुखहरुसँग सामुहिक छलफल गरेका छन् ।
नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने अभियानमा रहेका मन्त्री भट्टराईले उनीहरुलाई क्रिसमस र नयाँ वर्ष नेपालमै मनाउन आग्रह गरेका थिए ।
मन्त्रालयमै आयोजीत छलफलमा मन्त्री भट्टराईले भने-' मेरो अनुरोध छ, यो वर्षको नयाँ वर्ष—२०१९ र क्रिसमस नेपालमै मनाउनुहोस् । यो सन्देश तपाईको देशको नागरिकसम्म पनि प्रवाह गरीदिनुहोस् ।’

मन्त्री भट्टराईले सम्बन्धित देशका पर्यटन मन्त्रीहरुलाई भ्रमण वर्षको उद्घाटन समारोहमा उपस्थीतिको लागि निमन्त्रणा पठाइसकिएको जानकारी पनि दिए ।

मन्त्री भट्टराईले भुकम्पबाट भत्किएका भएको नेपालका ८९१ सम्पदा मध्ये ३८७ को निर्माण सम्पन्न भएको र बाँकी निर्माणको क्रममा रहेका जानकारी दिउ । बाँकी दुई वर्षमा भत्किएका सबै सम्पदाहरुको निर्माण सम्पन्न गरिने लक्ष्य रहेको भन्दै साथ र सहयोगको आह्रवान पनि गरे ।

मन्त्री भट्टराईले अब आर्थिक र सामाजिक क्षेत्रको असमानतालाई अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माणको बाटोमा देशलाई अघि बढाइने बताए। उनले भने, ‘आर्थिक तथा सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पुँजीको बिकास गरेर समतामुलक समाज निर्माण गर्नेछौं ।’

मन्त्री भट्टराईले अहिले पर्यटनबाट नेपालको कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत योगदान रहेको जानकारी दिँदै १५ औं पञ्चबर्षिय योजना सम्पन्न हुदासम्म १० प्रतिशत योगदान गर्ने लक्ष्य रहेको बताए । मन्त्री भट्टराईले अहिल विदेशी पर्यटकहरुले नेपालमा प्रतिदिन ४४ डलर खर्च गरीरहेको उल्लेख गर्दै अब ८० डलर खर्च गराउने र बार्षिक ३५ लाख पर्यटक नेपालमा भित्राउने लक्ष्य राखिएको जानकारी दिए ।

मन्त्री भट्टराईले आगमी २०२० मा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल र २०२१ मा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने जानकारी दिए । त्यस्तै निजगढ अन्तराष्ट्रिय विमानस्थलको पनि प्रारिम्भक काम सकिएको भन्दै लगानीको आवश्यक मोडलको बिषयमा लगानी बोर्डले काम गरीरहेको बताए । गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा उडान भर्ने विमान कम्पनीहरुलाई आकर्षक ‘प्याकेज’ सरकारले छिट्टै घोषणा गर्ने जानकारी दिँदै भने, ‘तपाईहरु मार्फत म यो जानकारी तपाईहरुको देशका वायु सेवा कम्पनीलाई गराउन चहान्छु ।’

मन्त्री भट्टराईले नेपालको हवाई सुरक्षाको बिषयमा युरोपियन युनियन लगायतले राखेको चासोप्रति गम्भिर रहेको भन्दै अन्तराष्ट्रिय हवाई सुरक्षाको मापदण्ड पुरा गर्न सरकार सक्रिय रहेको बताए । उनले नेपालका नीजि तथा सरकारी वायु सेवा निगम कम्पनीहरुले चाडै विश्वभरीका आकाशमा निर्बाध उडान भर्ने विश्वास पपनि व्यक्त गरे । मन्त्री भट्टराईले नेपालमा ५३ वटा आन्तरिक विमानस्थल रहेको जानकारी दिदै आगमी १० वर्ष भित्रमा सबै आन्तरिक विमानस्थललाई अन्तराष्ट्रिय मापदण्ड अनुसारको बनाइने बताए ।

नेपाल भ्रमण वर्ष–२०२०का संयोजक सुरज वैद्यले नेपालको पर्यकीय स्थलहरुको जानकारी, पर्यटनको सम्भाव्यता र भ्रमण वर्षको तयारीको बारमो जानकारी दिएका थिए ।

सहयोगका लागि तयार छौंः राजदुतहरु
कार्यक्रममा सहभागी राजदुतहरुले नेपाल भ्रमण वर्षलाई सफल पार्न आफूहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । नेपालका लागि चिनियाँ राजदुत होउ यान्छीले नेपाल भ्रमण गर्ने पर्यटनहरुमा चीन दोस्रो रहेको बताइन् । नेपालका लागि अमेरिकी राजदुत ¥याण्डी डब्लू बेरीले नेपाल भ्रमण वर्षसँग सम्बन्धित प्रचार सामाग्री उपलब्ध गराए ती सामाग्री आफ्नो देशमा पठाएर भ्रमण वर्ष सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै, अष्ट्रेलियाका राजदुत पिटर ग्रेम बड, जर्मनीका राजदुत रोलाण्ड साफर, जापानका राजदुत मासाभिची साइगो, संयुक्त राष्ट्रसंघका आवसीय संयोजक भ्यालरी जुलिया, युरोपियन युनियनका प्रमुख भेरोनिका काडी लगायतले पनि भ्रमण वर्ष सफल बनाउन आफ्नो ठाऊँबाट सक्दो सहयोग गर्ने बताए ।

Advertisement

Advertisement

Advertisement