तेह्रौंमा पदकको बर्षा भएपछि सागमा नेपालको कुल स्वर्ण संख्या सय पुग्यो

Advertisement

काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले बुधबार अर्को कोसेढुंगा पार गरेको छ। सागको इतिहासमा नेपालले जितेको कुल स्वर्ण पदक संख्या एक सय पुगेको छ। नेपालका लागि दक्षिण एसियाली खेलकुदमा एक सयौं स्वर्ण पदक जित्ने अवसर घरेलु मैदानमै जुर्नु अर्को संयोग हो।

हाल नेपालमा सागको १३औं संस्करण जारी छ। पहिलो संस्करण सम्पन्न भएको ३५ वर्षपछि नेपालले यस्तो उपलब्धि हासिल गरेको हो। नेपालका लागि एक सयौं स्वर्ण जित्ने सौभाग्य तेक्वान्दो खेलाडी सक्षम कार्कीलाई जुर्यो।

सक्षमले सातदोबाटोस्थित तेक्वान्दो हलमा भएको पुरुष ८७ केजीमाथिको तौल समूहमा स्वर्ण पदक जितेका हुन्। उनले फाइनलमा पाकिस्तानी खेलाडी वकार अली खानलाई पराजित गरे। सक्षमको स्वर्णसँग १३औं सागमा नेपालले जितेको स्वर्ण पदक संख्या २९ पुगेको छ।नेपाल दक्षिण एसियाली खेलकुदको अवधारणाकार र पहिलो संस्करणको आयोजक हो। सन् १९८४ मा काठमाडौंमा सम्पन्न पहिलो दक्षिण एसियाली महासंघीय खेलकुद (साफ)मा नेपालले चार स्वर्ण, १२ रजत र आठ कांस्य जितेको थियो। सन् २००४ पछि मात्र साफको नाम परिवर्तन गरी दक्षिण एसियाली खेलकुद (साग) राखिएको हो।

सन् १९८५ मा बंगलादेशको ढाकामा सम्पन्न दोस्रो संस्करणमा नेपालले एक स्वर्ण जितेको थियो भने सन् १९८७ मा भारतको कोलकातामा सम्पन्न तेस्रो साफमा दुई स्वर्ण हात पारेको थियो। सन् १९८९ मा पाकिस्तानको इस्लामाबादमा सम्पन्न चौथो साफमा एक स्वर्ण हात पारेको नेपालले सन् १९९१ मा श्रीलंकाको कोलम्बोमा भएको पाँचौं संस्करणमा दुई स्वर्ण चुमेको थियो।

यसैगरी नेपालले सन् १९९३ मा ढाकामा सम्पन्न छैटौं संस्करणमा एक, सन् १९९५ मा भारतको मद्रासमा सम्पन्न सातौं संस्करणमा चार र सन् १९९९ मा काठमाडौंमा सम्पन्न आठौं साफमा ३१ स्वर्ण पदक जितेको थियो। नेपालले सन् २००४ मा इस्लामाबादमा सम्पन्न नवौं सागमा सात र सन् २००६ मा कोलम्बोमा सम्पन्न १०औं सागमा सात स्वर्ण पदक हात पारेको थियो।

नेपालले सन् २०१० मा ढाकामा सम्पन्न ११औं सागमा आठ स्वर्ण जितेको थियो। भारतको गुवाहाटी र सिलोङमा सम्पन्न १२औं सागमा भने नेपालले तीनवटा स्वर्ण चुमेको थियो। १२औं सागसम्म नेपालले जितेको स्वर्ण पदक संख्या ७१ थियो। नेपाललाई एक सय स्वर्ण पदक जित्न २९ स्वर्ण आवश्यक थियो। बुधबार यो उपलब्धि पनि पूरा भएको छ।

१३औं सागमा हालसम्म नेपालले तेक्वान्दोमा ११, कराँतेमा १०, उसुमा तीन, ट्रायथलनमा दुई, साइक्लिङमा दुई र एथलेटिक्समा एक स्वर्ण पदक जितिसकेको छ। प्रतियोगिताको चौथो दिन बुधबार नेपालले तेक्वान्दो र साइक्लिङमा दुईदुई तथा कराँते र उसुमा एकएक स्वर्ण जितेको हो।

अन्नपूर्ण पोष्टबाट ।

Advertisement

Advertisement

Advertisement