जोइन्ट भेञ्चर बिजनेशमा टेलिकम र बाणिज्य बैंकः एक अर्बको डिजिटल पेमेन्ट कम्पनी, १० करोडको आइपीओ

Advertisement

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय बाणिज्य बैंकले जोइन्ट भेञ्चर बिजनेशमा हात हालेका छन् । दुई कम्पनीले जोइन्ट भेञ्चरमा एक अर्बको डिजिटल पेमेन्ट कम्पनी खोल्ने तयारी अन्तिम चरणमा पुर्याएका हुन् ।

बाणिज्य बैंकमा सरकारको पूर्ण स्वामित्व छ भने नेपाल टेलिकममा सरकारको ९२ प्रतिशत सरकारी सेयर हिस्सा रहेको छ । यी दुई कम्पनीले नेपाल डिजिटल पेमेन्ट कम्पनी मार्फत जोइन्ट भेञ्चर बिजनेश अघि बढाउन लागेका हुन् । टेलिकम र बाणिज्य बैंकको बराबर सेयर स्वामित्व रहने कम्पनीले १० प्रतिशत सेयर आइपीओका रुपमा सर्वसाधारणलाई समेत वितरण गर्नेछ ।

त्यस्तो कम्पनी स्थापनाका गर्न आसय पत्र(एलओआई)का लागि नेपाल राष्ट्र बैंक पुगेको छ । ‘आसय पत्र पाएपछि कम्पनी दर्ता गरेर २ महिनाभित्र सेवा आरम्भ गर्ने तयारी गरेका छौं ।’, बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्पाेरेट नेपालसँग भने ।
फागुन महिनाभित्रै सेवा आरम्भ गर्ने योजना बनेको पनि श्रेष्ठले बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले हातमा मोबाइल भएपछि बैंक भए सरहको सुविधा दिने गरि काम अघि बढाएको बताए । ‘सबै खाले बैंकिङ सेवा मोबाइल बाटै दिने गरि योजना बनाएका छौं, हातमा मोबाइल भएपछि बैंक भएकै जस्तो अनुभव सेवा ग्राहीले गर्न पाउनेछन्’, टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले भने ।

बाणिज्य बैंकको वित्तिय विशेषज्ञता(एक्सपर्टिज) र टेलिकमको पूर्वाधार दुबैलाई उपयोग गरेर डिजिटल फाइनान्सियल सर्भिसमा नयाँ रेकर्ड कायम गर्न खोजिएको पनि स्पष्ट पारे । उनी भन्छन्,-‘बाणिज्य बैंकसँग वित्तिय क्षेत्रको विशेषज्ञता छ, हामीसँग कनेक्टिभिटि छ, जनताले चाहेको र राज्यले सोचेको डिजिटल बैंकिङ सर्भिस दिन्छौं ।’, अधिकारीले भने ।

नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागका प्रमुख बोमबहादुर मिश्रले नेपाल डिजिटल पेमेन्ट कम्पनीको प्रस्तावमाथी अध्ययन भैरहेको बताए । ‘हामीले एक पटक फाइल अध्ययन गरेर थप कागजात मगाएका थियौं, त्यो पनि आइपुगेको छ, थप अध्ययन प्रक्रिया पुगेको भए चाँडै अनुमति दिनेछौं’, मिश्रले भने ।

Advertisement

Advertisement

Advertisement