प्रधानमन्त्रीको गृहजिल्लामा आकर्षक उद्यान बन्दै, ३ अर्ब लगानी गर्न कस्सिए रोशन प्रसाईँ

Advertisement

सुरुङ्गा । झापाको बिर्तामोडमा गोरुगाडाको चक्का प्रयोग गरी ‘द नेशनल गार्डेन’ नामक राष्ट्रिय उद्यान निर्माण थालनी भएको छ । सङ्ग्रहालयसहितको राष्ट्रिय उद्यान बनाउने ध्येयले बिर्तामोडका युवा व्यवसायी रोशन प्रसाईंले चक्काबाट उद्यान निर्माणको काम शुरु गरेका हुन् ।

पाँच बिघा क्षेत्रफलमा फैलिने उद्यान निर्माणका लागि रु तीन अर्ब लाग्ने बताइएको छ । अहिले उद्यान निर्माण गर्न एक हजार ६०० भन्दा बढी चक्का सङ्कलन गरिएको छ । उद्यान निर्माण गर्न अझै एक हजारभन्दा बढी चक्का लाग्ने बताइएको छ ।

मौलिक संस्कार र संस्कृतिको संरक्षण गर्दै झापामा चक्काबाट राष्ट्रिय उद्यान बनाउने उद्देश्यले पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ७० प्रतिशत पुराना चक्का सङ्कलन गरिसकिएको प्रसाईंले जानकारी दिए । उनले भने, “विसं २०७२ देखि गोरुगाडाको चक्का संरक्षण गर्दै आएको हुँ ।”

उनले बिर्तामोड– ५ र अर्जुनधारा नगरपालिका–६ देवी बस्तीमा उद्यान निर्माणको काम शुरु गरेका हुन् । सानो संसार हाउजिङ नजीकै उद्यान निर्माण भइरहेको छ । उद्यान निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्र बन्ने बताइएको छ ।

झापालाई दक्षिण एशियाकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने लक्ष्यसहित डेढ वर्षभित्र उद्यान निर्माण गरिने जनाइएको छ । उद्यानमा ३०० वर्षभन्दा पुराना चक्का राखेर झापाको नाम विश्वसामु चिनाउने प्रयास भइरहेको प्रसाईंले बताए ।

प्रयोगविहीन भएर फ्याँकिएका चक्का घरघरमा पुगेर खरीद गरिएको र उद्यानमा राखिने चक्काको ढाँचाको काम थालिएको इञ्जिनीयर अनुष पराजुलीले जानकारी दिए । उद्यानमा जमीनबाट ८१ फिट उचाइमा राष्ट्रिय झण्डा राखिने तयारी छ । “नेपालको नक्शाभित्र १०० भन्दा बढी फूल फुलाएर उद्यानलाई सुन्दर बनाइने तयारीसमेत थालिएको छ । उद्यानमा प्रयोग गरिने सबै चक्का ५० वर्षभन्दा पुराना र सखुवाकै हुनेछन् ”, प्रसाईंले भने । रासस

Advertisement

Advertisement

Advertisement