गभर्नरको प्रश्नः चेक नचिन्ने बैंकका कर्मचारी कस्ता ?

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थाहरुले कर्मचारीको कार्य क्षमता अभिवृद्धिमा हेलचेक्र्याई गरेको आरोप लगाएका छन् ।

नेपाल बैंकर्स संघको ३३ औं बार्षिक साधारण सभामा राष्ट्र बैंकका गभर्नर डा. नेपालले चेक लैजाने मान्छे समेत नचिन्ने कर्मचारी कस्तो राखेको भन्दै प्रश्न समेत गरे । ‘कर्मचारीले आज एउटाको चेक अर्कैलाई दिए, भोली बिटोका बिटो पैसा दिएर पठाए भने के गर्ने ?, बैंकरहरुले कस्ता कर्मचारी राखेको ? अब यस्तो सहन सकिन्न’, डा. नेपालले भने ।

उनले अझै अघि थपे-'चेक बुक कसलाई दिनुपर्छ र कसरी दिनुपर्छ भन्ने पनि हामीले सिकाएका रहेनछौं । यति ठुलो कमर्सियल बैंक, त्यत्रो नाफा गर्छ तर त्यसका कर्मचारीले चेक कसलाई दिने भन्ने पनि जान्दा रहेनछन् । यसलाई केन्द्रिय बैंकले गम्भिर रुपमा हेरेको छ ।'

उनले कुल आम्दानीको ३ प्रतिशत रकम कर्मचारीको क्षमता अभिवृद्धिमा खर्चनै पर्ने व्यवस्था लागु गर्दा समेत यस्तो अवस्था आउनु आपक्तिजनक भएको पनि बताए ।‘हामीले ३ प्रतिशत आम्दानी कर्मचारीको क्षमता बढाउन खर्च गर्नुस भनेर निर्देशन नै दिएका छौं, फेरी पनि कर्मचारीको क्षमता अर्कैलाई चेक दिएर पठाउने खालका देखियो, यो सब के गरको ?’, डा. नेपालले प्रश्न गरे ।

उनले बैंकका सञ्चालक र सिइओ मात्रै विदेश भ्रमणमा गएको आरोप लगाउँदै अब कामकाजी कर्मचारीलाई समेत विदेश भ्रमणमा पठाएर एक्सपोजर दिलाउन निर्देशन पनि दिए । ‘तालिम र गोष्ठी भन्दै बैंकका सञ्चालक र सिइओ मात्रै विदेश गैरहेको देख्छु, कामकाजी कर्मचारीको हालत यस्तो छ, अब देखि तल्लो तहका कर्मचारीलाई पनि तालिम लिन विदेश पठाउनुस’, डा. नेपालले निर्देशन दिए ।

Advertisement

Advertisement

Advertisement