मेलम्ची आईहाले पनि काठमाडौंलार्ई पानी नपुग्ने, सबै काम सक्न अझै १४ महिना

Advertisement

काठमाडौं । सरकारले आगामी असारभित्र मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने गरी कामलाई तीव्रता दिएको छ । खानेपानी मन्त्रालयले सोहीअनुरूप गत असोजमा चिनियाँ कम्पनी सिनो हाइड्रोसँग सम्झौता गरी ठेक्का लिएर काम अघि बढाएको छ । ११ महिना ठप्प रहेको आयोजनाको काम अघि बढेसँगै पानी ल्याउने नयाँ डेडलाइनसमेत घोषणा गरिएको हो ।

आयोजना थालनी भएको आउँदो १२ पुसमा १८ वर्ष पूरा भई १९ वर्ष लाग्दै छ । बितेका १८ वर्षमा मेलम्ची आयाजनको कुल ९० प्रतिशत मात्र काम भएको छ । मेलम्ची विकास समितिअनुसार मेलम्चीको पानी काठमाडौं झार्ने काम आउने असारमा सम्पन्न हुनेछ । तर, सबै संरचना बनाएर आयोजना सम्पन्न गर्न १४ महिना लाग्नेछ । आयोजनाका अनुसार २०७७ पुसमा सबै काम सम्पन्न हुनेछ ।

अहिले काठमाडौं उपत्यकाको प्रक्षेपित चलायमान जनसंख्या ४२ लाख रहेको छ । त्यो जनसंख्यालाई काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले दैनिक १४ करोड लिटर पानी उपलब्ध गराइरहेको छ । सहरी क्षेत्रमा दैनिक प्रतिव्यक्ति एक सय लिटर पानी आवश्यक पर्ने प्रचलित मापदण्ड छ । त्यसअनुसार हाल काठमाडौं उपत्यकाको खानेपानी माग दैनिक ४२ करोड लिटर हो । मेलम्चीको पानी आउँदा (पहिलो चरणअन्तर्गत) दैनिक १७ करोड लिटर थपिनेछ । यसअनुसार काठमाडौंमा उपलब्ध पानी ३१ करोड लिटर पुग्नेछ । यसले ३१ लाख मानिसलाई मात्र खानेपानी पुग्ने भए पनि अझै ११ लाख मानिसलाई अभाव हुनेछ ।

मेलम्ची आएपछि जम्मा हुने पानी काठमाडौं उपत्यकाको कुल जनसंख्यालाई समानुपातिक वितरण गर्दा दैनिक प्रतिव्यक्ति ७३ दशमलव ८० लिटर मात्र पुग्छ । जुन तोकिएको मापदण्डभन्दा २६ दशमलव २० लिटर न्यून हो । हाल उपत्यकामा दैनिक प्रतिव्यक्ति औसत ३३ लिटर खानेपानी वितरण भइरहेको छ ।

पहिलो चरणमा काठमाडौं झर्ने दैनिक १७ करोड लिटर पानी चक्रपथभित्र वितरण गरिने मेलम्ची खानेपानी उपआयोजना २ का प्रमुख भोजविक्रम थापाले बताए । बढ्दो सहरीकरणका साथै जनसंख्या वृिद्धका कारणले पानीको माग बढ्दै गए पनि पर्याप्त स्रोतको अभावका कारण पानी उत्पादन क्षमता बढाउन नसकिएको केयुकेएलले जनाएको छ ।

केयुकेएलले विभिन्न मुहान र भूमिगत स्रोतबाट पानीको उत्पादन गर्दै आएको छ । तर, माग र आपूर्तिबीच ठूलो खाडल रहेकाले उपत्यकाआसपासका सबै मुहान प्रयोग गर्दासमेत त्यो खाडल परिपूर्ति गर्न नसकिने र भूमिगत पानीले समेत त्यसलाई पूर्ति गर्न नसक्ने केयुकेएलका प्रवक्ता प्रकाश राईले बताए ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement