‘बिग मर्जर’ शुभारम्भ गर्दै अर्थमन्त्रीले भने-‘मोटाउन त सजिलो भो, अब स्मार्ट बन्नोस्’

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले ग्लोबल आईएमई बैंकलाई ठूलो मात्रै होइन अब स्मार्ट बैंक बन्न सुझाव दिएका छन् । जनता बैंकसँगको मर्जर पछि शुक्रबारबाट एकीकृत कारोबार शुभारम्भ गरेको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री खतिवडाले भने-ग्लोबल आईएमई बैंक ठूलो बैंक भएकोमा बधाई छ, जनतासँग मर्ज भएर मोटाउन त सजिलो भयो, अब स्मार्ट बैंक बनाउनु होस् ।’

उक्त अवसरमा अर्थमन्त्री खतिवडाले ठूलो बैंक बन्दा सेवाग्राहीहरुको विश्वास अझै बढ्ने बताए । तर, कुनै संस्था ठूलो बन्दा त्यसको व्यवस्थापन त्यत्तिकै चुनौतिपूर्ण हुने तर्फ सचेत रहन बैंक सञ्चालक समिति र व्यवस्थापकीय टीम चनाखो हुनु पर्ने बताए ।

नेपाल सरकार अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले लिएको बैंक तथा मर्जरको नीतिलाई अवलम्बन गर्दै विगतमा रहर र लहडमा बैंक तथा वित्तीय संस्था चलाएकाहरुलाई त्यो तनाबबाट उन्मुक्ति लिए उपयुक्त अवसर भएको समेत उनले बताए । यी दुई ठूला वाणिज्य बैंकको मर्जरबाट पाठ लिएर अरु बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जरको बाटोमा अघि बढ्न समेत अर्थमन्त्री खतिवडाले सुझाए ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मर्जरको नीति लिएको अवस्थामा बिग मर्जर गरेका ग्लोलब र जनताको एकीकृत कारोबार शुक्रबारबाट शुरु भएको हो । मर्जसँगै ग्लोबल बैंकको चुक्ता पुँजी १९ अर्ब, निक्षेप २ खर्ब १३ अर्ब, कर्जा १ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

७७ वटै जिल्लामा ३ सय भन्दा धेरै शाखा, २५९ वटा एटीएम बुथ, २४३ वटा शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन काउन्टर, विदेशमा प्रतिनिधि कार्यालय ३ वटा गरी कूल ८ सय ३८ स्थानबाट सेवा प्रवाह गर्ने बैंक भएको बताइयो । बैंकमा ३ हजार २ सय ५० भन्दा बढी कर्मचारी र २० लाख ग्राहक रहेको तत्कालीन जनता बैंकका अध्यक्ष केशवबहादुर रायमाझीले बताए ।

ग्लोबल आइएमई बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षता र अर्थमन्त्री खतिवडाको प्रमुख आतिथ्यमा एकीकृत कारोबार शुरु भएको हो । सो अवसरमा गभर्नर डा. चिरञ्जीवी नेपाल, डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफर कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णु अग्रवाल, नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगाना, नेपाल बैंक तथा वित्तीय संस्थाका अध्यक्ष पवन गोल्यान लगायतको आतिथ्यमा एकीकृत कारोबार शुभारम्भ भएको हो ।









Advertisement

Advertisement

Advertisement