‘उद्योगी र बैंकरपनि तपाईँहरु नै, मिलेर ब्याज दर तय गर्नुुस्’: गभर्नर नेपाल

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्थाहरुले लिंदै आएको ब्याज दरमा केही नबोल्ने बताएका छन् ।

ग्लोबल बैंक र जनता बैंकको एकीकृत कारोबार शुभारम्भ समारोहलाई शुक्रबार सम्बोधन गर्दै गभर्नर नेपालले यस्तो कुरा बताएका हुन् ।उक्त समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै उद्योगी व्यवसायीहरुको संस्थाका नेताहरुले बैंक तथा वित्तीय संस्थाले लिने ब्याज दर महङ्गो भएको भन्दै घटाउन सुझाएका थिए ।

ब्याज दरबारे उद्योगी व्यवसायीका नेताहरुको गुनासो सुनेपछि गभर्नर नेपालले भने-‘तपाईँ उद्योगी व्यवसायीहरु नै बैंक तथा वित्तीय संस्थाको लगानीकर्ता र सञ्चालक हुनुहुन्छ, त्यसकारण ब्याज दर महङ्गो भो नभन्नुस्, तपाईँहरु मिल्नुस् र उपयुक्त ब्याज दर तय गर्नुस् । त्यसमा राष्ट्र बैंकका कुनै आपत्ति हुँदैन ।’ राष्ट्र बैंकले लिएका नीतिहरु मान्नुस्, अघि बढ्नुस्, नियमनकारी निकायको कुनै आपत्ति हुन्न-उनले भने ।

बैंक तथा वित्तीय संस्थाहरुले नाफा यति गरे उति गरे भन्ने सार्वजनिक हुने गरेका छन्, अब बैंकर मात्र होइन उद्योगीहरुलाई माथि उकास्नेतर्फ सोच्नुस्, बैंकरहरुलाई लक्षित गर्दै गभर्नर नेपालले भने ।

उक्त कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका कार्यबाहक अध्यक्ष विष्णु अग्रवालले बैंक तथा वित्तीय संस्थाले लिने ब्याज दर घटाउन सुझाएका थिए ।

उनीहरुले ग्लोबल र जनता बैंक मर्जर भएर ठूलो बैंक भएपछि अब पूर्वाधारका ठूला परियोजनामा लगानीको समस्या नहुने बताए । उनीहरुले बैंक ठूलो भएसँगै ब्याज दरमा कमी आए उद्योगी व्यवसायीहरुले पनि मर्जरबाट हुने फाइदाको सही अर्थमा अनुभूति गर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement