अर्थमन्त्री खतिवडाद्वारा वातावरण पत्रकारहरुको भवन शिलान्यास

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले निर्माण गर्न लागेको भवनको शिलान्यास गरेका छन् । नेवापसको कार्यालय भनिमण्डलमा आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री खतिवडाले भवनको शिलान्यास गरेका हुन् । आगामी १० महिनाभित्र सो भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्य नेवापसले जनाएको छ ।

भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए । अर्थमन्त्री खतिवडाले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन सहकार्यको रुपमा वुझिनुपर्ने जिकिर गरे ।

उनले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको भन्दै, ‘वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ, त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्छ’ भने । वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले विभिन्न काल खण्ड पार गर्दे वातावरणको क्षेत्रमा छुट्टै पहिचान बनाएको बताए । कार्यक्रमलाई सम्बोधन गर्दै नेवापसका अध्यक्ष कसमस विश्वकर्माले समूहको लागि आज ऐतिहासिक दिन रहेको बताए । सरकारसँग नजिकमा रहेर वातावरण र विकासको
मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको उनले बताए ।

समूहसँग अहिले उपलब्ध स्रोतले भवन निर्माण गर्न नसकिने र सबैको सहभागिता र सहयोग आवश्यक रहेकोमा उनले जोड दिए । उनले सबैलाई आफ्नो क्षेत्रबाट भवन निर्माणका लागि सहयोग गर्न आव्हान समेत गरे । आफ्नो दुई वर्ष कार्यकालको एक वर्ष सकिएको भन्दै अबको एक वर्षको आफ्नो कार्यकालमा भवन निर्माणको काम सम्पन्न गर्ने प्रण गरिएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै नेवापसका महासचिव निमेष रेग्मीले विगत ३३ वर्षदेखिको सपना साकार हुन लागेको बताए । उनले, ‘भवनको शिलान्यसँगै विगत ३३ बर्षदेखिको सपना अब साकार हुन लागेको छ, अबको १० महिनामा सो भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएका छौ ।’ ठूलो परिवार एकीकृत भएको भन्दै वातावरण, दिगो विकास र नेपालको संरक्षणको लागि प्रयास गर्दै आएको बताए ।

समूहले नेपालको वातावरण जोगाउन विभिन्न प्रयास गरेको र जनचेतना फैलाउने काम गरेको भन्दै भवन निर्माणका लागि सरकारको सहयोगको अपेक्षा गरे । शिलान्यास कार्यक्रममा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा, अन्य सरकारी अधिकारी, नेवापसका पूर्व पदाधिकारी, सदस्य तथा वातावरणविद्हरुको उपस्थिती थियो ।

भवन निर्माणका लागि नेवापसले ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेड र पि।सी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेडको संयुक्त उपक्रम (जेभी) सँग आफ्नो भवन निर्माणका लागि सम्झौता गरेको छ । एक करोड पचास लाख लगानीमा नेवापसको भवन निर्माण हुन थालेको हो ।

सम्झौता पत्रमा नेवापसका तर्फबाट अध्यक्ष कसमस विश्वकर्मा र नेवापसका भवन निर्माण समितीका संयोजक चन्द्रशेखर कार्कीले हस्ताक्षर गरेका छन् भने पिसी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिेटडका निर्देशक दीपक राज नेपाल र ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेडका निर्देशक सुनिल घिमिरले हस्ताक्षर गरेका छन् ।

Advertisement

Advertisement

Advertisement