सहकारीलाई सहकारीमन्त्रीको सुझाव– बैंकसँग प्रतिस्पर्धा गर्नेगरी क्षमता बढाउनुहोस्

Advertisement

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सहकारीले पनि ठूला बैकसँग प्रतिस्पर्धा गर्नेगरी आफ्नो क्षमता बढाउनुपर्ने बताएकी छन् ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ आठौ स्थापना दिवस र सातौ वार्षिक साधारणसभामा अर्यालले बैंकहरुसँग प्रतिस्पर्धा गर्नसक्ने गरी सहकारी संस्थाहरु पनि सक्षम र प्रतिस्पर्धी हुनुपर्ने बताएकी हुन् ।

अर्थतन्त्रमा सहकारी क्षेत्रले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उनले अब घर घरका सदस्यलाई सहकारीतर्फ आकर्षण गर्न सबै सहकारीकर्मी एकजुट हुनुपर्ने बताइन् । अर्यालले त्यसको लागि सरकारले सहयोगी भूमिका खेल्ने बताइन् । अर्यालले भनिन्– तपाईंहरुले दुःख र आन्दोलन गरेर प्राप्त गरेको उपलब्धीलाई जोगाउन सबै सहकारीकर्मी एकजुट हुनुको विकल्प छैन, त्यसैले सिष्टमअनुसार अघि बढ्नुपर्छ । अहिलेको अवस्थामा प्रविधिमैत्री भएर काम गर्नुहोस् ।

अन्तरसहकारी भुक्तानी प्रणालीको सुरुवात गर्न आग्रह गर्दै मन्त्री अर्यालले त्यसो भए मात्र सहकारी संस्थाको थप विकास हुने बताइन् । उनले राम्रो कारोबार गर्ने सहकारीले वार्षिक विवरण सार्वजनिक गर्नुुपर्ने बताउँदै सदस्यहरुलाई सहकारीप्रति आकर्षण गर्न कुल पुँजीको निश्चित रकम कोषमा राख्नुपर्ने बताइन् । अबको सहकारी आन्दोलनलाई समाजवादउन्मुख बनाउनुपर्ने अर्यालको तर्क छ ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघका अध्यक्ष सुरेन्द्र भण्डारीले २५ अर्ब भन्दा बढीको पुँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी संघ संस्थाको दिर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य रहेको बताए ।

देशभर चार हजार ३७१ बहुउद्देश्यीय सहकारी संस्थामध्ये संघअन्तर्गत १२ संघ सहित ३३४ संस्था आबद्ध रहेका छन् । बहुउद्देश्यीय सहकारी संघअन्तर्गत करिब ४५ हजारलाई रोजगारी दिएको भन्दै उनले दुई करोड चुक्ता पुजी रहेको संघको करिब ५० करोड रुपियाँ सम्पत्ति, ४७ करोड निक्षेप, १७ करोड रुपियाँ लगानी जानकारी दिए ।

भण्डारीले सरकारले जारी गरेको सहकारी ऐनमा कृषि तथा बहुउद्देश्यीय सहकारीलाई अनिवार्यरुपमा बचत तथा ऋण कारोबार गर्नुपर्ने व्यवस्थाप्रति संघले आपत्ति जनाएको छ । सो व्यवस्थाले बहुउद्देश्यीय सहकारी संस्थाहरुलाई समस्या पर्ने उनको भनाई छ ।

संघले चारवर्षीय रणनितिक योजना पनि सार्वजनिक गरेको छ । छ बुँदे रणनीतिको लक्ष्यमा सदस्यता अभियान, पुँजी, बचत, ऋण कारोबार तथा लगानीमा बृद्घि, सेवा प्रवाह–परामर्श, तालिम, सफ्टवेयर, कागजात सेवा जस्ता विभिन्न सेवाहरुमा अभिबृद्घि, मानव स्रोत व्यवस्थापन तथा क्षमता अभिबृद्घि, पूर्वाधार विकास र संस्थागत सुशासन रहेका छन् ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सरकारको आर्थिक वृद्धि दरको लक्ष पूरा गर्न संघले महत्वपूर्ण भूमिका खेलेको बताए । महासंघका पूर्व अध्यक्ष दीपक बास्कोटा, पूर्वमन्त्री राजेन्द्र पाण्डे, राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष दक्ष पौडेल, मत्यपालन केन्द्रीय संघका अध्यक्ष सरोज शर्मा, महासंघका लेखासमिति संयोजक धर्मदत्त देवकोटा लगायतले बोलेका थिए ।

संघले बहुउद्देश्यीय सहकारी संस्थाहरूको जिल्लास्तरीय तथा प्रदेशस्तरीय संघ गठन गर्ने, बचत तथा ऋणको कारोवारलाई नियमित एंव प्रभावकारी रुपमा संचालन गर्ने, विभिन्न स्थानमा सेवा काउन्टरहरु सञ्चालन गर्ने, प्रारम्भिक तहदेखि जिल्ला, प्रदेश, केन्द्रीय, राष्ट्रियस्तर तथा देशका विभिन्न निकायहरूमा सहकारी संस्थाहरूको हकहित, संरक्षण र व्यवसाय प्रवद्र्धन गर्न समन्वयात्मक भूमिका निर्वाह गर्ने, पूर्वाधार विकासमा जोड दिनेलगायतका कुराहरुमा सहकारी विभाग र सहकारी मन्त्रालयको ध्यानाकर्षण गराउने बताएको छ ।

Advertisement

Advertisement

Advertisement