ग्लोबल आइएमईको सीईओमा परशुराम कुवँर नियुक्त, जनताबाट २ सञ्चालक थपिए

Advertisement

काठमाडौँ । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा परशुराम कुवँर क्षेत्री नियुक्त भएका छन् । सञ्चालक समितिको शुक्रबार बसेको बैठकले क्षेत्रीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

ग्लोबल आइएमई र साविक जनता बैंकबीचको मर्जर सम्बन्धी सम्झौता पत्रको दफा २१ अनुसार बैंकको सीईओमा साविक जनताका सीईओ क्षेत्री र वरिष्ठतम नायब सीईओका रुपमा ग्लोबल आइएमईका कामु सीईओ महेश शर्मा ढकाल रहने व्यवस्था अनुसार उक्त निर्णय गरिएको कम्पनी सचिव विष्णुप्रसाद बाँस्कोटाले जनाएका छन् ।

यता, ग्लोबल आईएमई बैंकको सञ्चालक समितिमा समेत २ जना थप गर्ने निर्णय भएको छ । मर्जर सम्बन्धी सम्झौता अनुसार नै साविक जनता बैंकका तर्फबाट केशवबहादुर रायमाझी र बिनितकुमार अग्रवाललाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय भएको हो । ग्लोबल आइएमई बैंक सञ्चालक चन्द्रप्रसाद ढकाल, सुदर्शनकृष्ण श्रेष्ठ, सुमन पोखरेल, कृष्णप्रसाद शर्मा र नुमनाथ पौडेल यथावत रहेका छन् ।

दुबै बैंक मर्जर भई यही मंसिर २० गतेबाट एकीकृत कारोबार समेत शुरु गरिसकेका छन् । बैंक सञ्चालक समितिको अध्यक्ष समेत चन्द्रप्रसाद ढकाल यथावत रहेको कम्पनी सचिव बाँस्कोटाले बताए ।

Advertisement

Advertisement

Advertisement