पशुपतिमा भारतले बनाइदिएको धर्मशालालाई व्यापारको लागि प्रयोग गर्न नदिइने

Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले धार्मिक क्षेत्रलाई व्यापारको थलो बनाउन नहुने बताएका छन् । पशुपतिनाथ क्षेत्रमा आयोजित श्रीगीता जयन्ती महोत्सवमा उनले भारतले बनाइदिएको धर्मशालालाई लक्षित गरी धार्मिक क्षेत्रलाई व्यापारको थलो बनाउन नहुने बताएका हुन् ।

उक्त धर्मशालालाई पशुपति क्षेत्र विकास कोषले तीन तारे होटलको रुपमा भाडामा दिन लागेको भन्दै आलोचना भइरहेको छ । मन्त्री भट्टराईले पशुपति क्षेत्र पुरातात्विक क्षेत्र समेत रहेकोले गलत प्रयोग गर्न नहुने बताए । भट्टराईले भने, ‘सरकार पशुपतिनाथको पवित्रतालाई जोगाउन प्रतिबद्ध छ, पशुपतिनाथ पुरातात्विक क्षेत्र भएकोले कसैले पनि गलत नियतले काम गर्नुहुन्न । राजनीति गरिनु हुन्न ।’

सन् २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा मनाइरहँदा साँस्कृतिक पर्यटनबाट भ्रमण बर्षको लक्ष्य कसरी हासिल गर्ने ? भनेर सरकारले काम गरिरहेको बताउँदै उनले हिन्दु र बौद्धमार्गी पर्यटन प्रवद्र्धनको ठूलो संभावना रहेको बताए । भट्टराईले श्रीमद्भागवत गीता समग्र मानव सभ्यताको मूल आधार रहेको बताउँदै भागवत गीतालाई आध्यात्मिक दृष्टिकोणले मात्रै हेर्न नहुने बताए ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पूरीले गीताको सारलाई मानव जीवनमा लागू गर्नुपर्ने बताए । उनले नेपाल–भारत सम्बन्ध संस्कृतिसँग पनि जोडिएकाले यो नटुट्ने बताए । पूरीले पशुपति क्षेत्रको बृहत्तर विकास र बागमती सफाईका लागि भारत सरकार सहयोग जारी राख्न प्रतिवद्ध रहेको बताए ।

पशुपतिनाथका मूल भट्ट गणेश रावल, प्रदेश सांसद नरोत्तम बैद्य, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल लगायतले श्रीमदभागवत गीताको महत्वबारे बोलेका थिए ।

कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरुले गीताको ११ औं अध्याय पाठ गरेका थिए । त्यस्तै, गीता साधक, गुरुकुल र सर्वसाधारणले पनि गीताको १ अध्याय देखि १८ अध्यायसम्म स्वाध्याय गरेका थिए ।

आध्यात्मिक समाज निर्माणको उद्देश्य स्थापना भएका श्रीगीता ज्ञान प्रचार सेवा समितिले गीताप्रेस पुस्तक बिक्री केन्द्रको व्यवस्थापनमा आयोजना गरेको यो कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान पनि गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement