इजरायली विकास नियोगका प्रमुखसँग उर्जामन्त्री पुनको भेटवार्ता, नेपालमा लगानी बढाउन आग्रह

,   २३ मंसिर २०७६, सोमबार, ०४:४५ pm   

काठमाडौं । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुन ‘अनन्त’ र इजरायली विकास नियोगका प्रमुख गील हसकेलबीच भेटवार्ता भएको छ । सिंहदरवास्थित उर्जामन्त्रालयमा सोमबार भएको भेटवार्तामा द्धिपक्षीय सहयोगका साथै आपसी हितको विषयमा छलफल भएको थियो ।

भेटमा मन्त्री पुनले सरकारले पाँच वर्षमा पाँच हजार मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य लिएको भन्दै खपतको लागी आन्तरिक र बाह्य बजार तयार रहेको जानकारी दिए । उनले उर्जा,जलविद्युत र सौर्य उर्जामा इजरायली लगानीकर्तालाई लगानीका लागी प्रेरित गरिदिन आग्रह गरे ।

‘नेपालमा प्रशारण लाइन, जलविद्युत र सोलारमा पनि सहकार्य गर्न अवसर छ, इजरायली लगानीकर्ताहरुलाई नेपालमा लगानीका लागी प्रेरित गरिदिन आग्रह गर्छु ।’ मन्त्री पुनले भने ।

मन्त्री पुनले नेपाल विद्युत प्राधिकरण र विभिन्न सरकारी कम्पनीहरु मातहत १२ हजारभन्दा बढी कर्मचारी भएको भन्दै तालिम र क्षमता अभिवृद्धिका कार्यक्रममा सहकार्य गर्न सकिने धारणा राखे ।

भेटमा विकास नियोग मसाभका प्रमुख हसकेलले स्मार्ट ग्रिड, पावर स्टेशन र स्मार्ट सोलुशनको क्षेत्रमा काम गर्न इजरायल इच्छुक रहेको बताए । छलफलमा उर्जामन्त्रालय मातहतका कर्मचारीलाई तालिम र क्षमता अभिवृद्धिका लागी सहयोग गर्न सकिने बिषयमा समेत छलफल भएको थियो ।