भ्रमण बर्ष २०२० मा विशेष छुट घोषणा गर्न वायुसेवा सञ्चालकहरुलाई पर्यटनमन्त्रीको सल्लाह

Advertisement

काठमाडौं । पर्यटनमन्त्री तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण बर्षका क्रममा विशेष छुट र प्याकेज घोषणा गर्न वायुसेवा सञ्चालकहरुलाई बोलाएर सल्लाह दिएका छन् । मन्त्री भट्टराईले सोमबार पर्यटन मन्त्रालयमा उनीहरुलाई बोलाएर कुराकानी गरेका हुन् ।

साथै उनले नेपाल भ्रमण वर्ष–२०२० को उद्घाटनमा ‘एयर सो’ लगायतका सिर्जनात्मक कार्यक्रम गर्न पनि सल्लाह दिए । भट्टराईले भ्रमण बर्ष सफल बनाउन वायुसेवाहरुको महत्वपूर्ण हुने भन्दै यसलाई सहयोग गर्न आग्रह गरेका थिए । वायुसेवा सञ्चालकहरुले आफ्ना सरोकार र समस्या सुनाएका थिए ।

वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आफूहरु प्रतिवद्ध रहेको भन्दै आफूहरुको समस्याको समाधान गरिदिन आग्रह गरेका थिए । उनले भ्रमण वर्ष अवधीभर निषेधित क्षेत्रमा हेलिकप्टर कम्पनीहरुलाई निर्वाध सेवा सञ्चालन गर्न अनुमति दिन माग गरेका थिए । यसैगरी उनले काठमाडौंदेखि रामेछापसम्मका बाटो स्तरोन्नतीको लागि पनि आग्रह गरेका थिए ।

छलफलमा विदेशी विशिष्ट व्यक्ति र सेलिब्रेटीहरुलाई छुट दिने बिषयमा पनि छलफल भएको मन्त्रीको निजी सचिवालयले जनाएको छ । पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सीईओ पीपकराज जोशी, नेपाल भ्रमण वर्ष–२०२० को सचिवालयका सदस्य सचिव बच्चुनारायण श्रेष्ठ, हवाई सञ्चालकहरु बैठकमा सहभागी थिए ।

Advertisement

Advertisement

Advertisement