देशभर घरजग्गाको कारोबार २० प्रतिशतले घट्यो, कृषियोग्य जमिनको प्लटिङ रोके अझै घट्ने

Advertisement

काठमाडौं । सरकारले घरजग्गा कित्ताकाँटमा कडाइ गरेसँगै देशभर कारोबार २० प्रतिशतले घटेको छ । काठमाडौं उपत्यकामा भने १७ प्रतिशतले बढेको छ । कारोबार घट्दा यसबाट उठ्ने राजस्व समेत प्रभावित भएको छ । घरजग्गा कारोबारको अभिलेख राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको चार महिनामा घरजग्गासम्बन्धी कारोबारबाट पाँच अर्ब ७२ करोड १० लाख रुपियाँ राजस्व असुली भएको छ।

यो पोहोरको सोही अवधिको दाँजोमा २० प्रतिशत कम हो। गत आर्थिक वर्षको पहिलो चार महिनामा सात अर्ब १५ करोड ९० लाख रुपियाँ राजस्व उठेको थियो । घरजग्गा कारोबार घटे–बढेको तथ्यांक राजस्व असुलीका आधारमा हेर्न सकिन्छ।

मन्त्रिपरिषद्ले २०७४ साउन २६ मा जग्गाको कित्ताकाँटमा रोक लगाएको थियो । कृषियोग्य जमिन घडेरीको रुपमा बिक्री गर्न नपाइने व्यवस्था सहितको उक्त निर्णयले कित्ताकाँटमा व्यवहारिक समस्या देखिएको भन्दै चौतर्फी विरोध भएपछि २०७५ पुस २७ मा सरकार उक्त निर्णयबाट केही पछाडि हटेको थियो।

अशंवण्डा र अदालतले फैसला गरेको कित्ताकाँट खुला गर्ने व्यवस्था भए पनि ठूलो परिमाणमा प्लटिङ गरेर कारोबार गर्ने व्यवसाय बन्द जस्तै अवस्थामा पुगेपछि राजस्व असुलीमा कमी आएको व्यवसायी बताउँछन्।चालु आर्थिक वर्षको पुँजीगत लाभकरमा समेत १४ प्रतिशतले कमी आई एक अर्ब ७२ करोड ५२ लाख रुपियाँमा सीमित भएको छ। पोहोर यो कर एक अर्ब ९८ करोड ७० लाख रुपियाँ असुली भएको थियो।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement