एकाउन्न स्वर्णसहित २०५ पदक हात पार्दै नेपालले १३औं सागलाई बिदाई गर्यो

Advertisement

काठमाडौं । नेपालले ५१ स्वर्ण पदकसहित १३औं दक्षिण एशियाली खेलकूद (साग)को बिदाइ गरेको छ । सागको ३५ वर्षे इतिहासमा नेपालले यसपटक कीर्तिमानी प्रदर्शन गरेको हो । नेपालले १३औं सागमा हालसम्मकै सर्वाधिक पदक जितेको छ । यसअघि सन् १९९९ मा काठमाडौँमा सम्पन्न आठौँ सागमा नेपालले ३१ स्वर्ण जितेको थियो ।

तेह्रौं सागमा नेपाल पदक तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले ५१ स्वर्ण, ६० रजत तथा ९५ कास्यसहित कूल २०५ पदक जित्यो । नेपालले मंगलबार बक्सिङ र पुरुष फुटबलमा स्वर्ण जितेको थियो । पुरुष फुटबलमा भूटानलाई २–१ गोलले हराउँदै स्वर्ण जितेको थियो भने बक्सिङमा सनिल शाहीले स्वर्ण जितेका थिए । सागमा समावेश २६ खेलमध्ये नेपालले २५ खेलमा पदक जितेको छ । नेपाल सुटिङमा भने पदकविहीन रह्यो ।

नेपालले आठौं साग जस्तै यसपटक तेक्वान्दो र करातेमा सफलता प्राप्त गर्यो । तेक्वान्दोबाट सर्वाधिक १२ तथा करातेबाट १० स्वर्ण पदक प्राप्त भयो । बक्सिङमा नेपालले दुई दशकपछि स्वर्ण पदक पायो । बक्सिङमा नेपालले तीन स्वर्ण जितेको छ । तेह्रौं सागमा पौडीकी गौरिका सिंह सर्वाधिक सफल खेलाडी बनिन् । उनले सागको एउटै संस्करणमा चार स्वर्ण जित्दै कीर्तिमान बनाइन् ।

यस्तै करातेका मण्डेकाजी श्रेष्ठ र आयशा शाक्यले एउटै संस्करणमा दुई स्वर्ण कीर्तिमान बनाए । महिला क्रिकेटतर्फ अञ्जली चन्दले दुई दशमलव एक ओभर बलिङ गर्दै बिना कुनै रन छ विकेट लिएर विश्व कीर्तिमान बनाइन् । तेह्रौं सागका खेल काठमाडौँ, ललितपुर, पोखरा र जनकपुरमा खेलाइएका थियो ।

भारत १७४ स्वर्ण, ९३ रजत र ४५ कास्यसहित कूल ३१२ पदक जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । यस्तै श्रीलङ्का ४० स्वर्ण, ८३ रजत र १२८ कास्यसहित कूल २५१ पदक जित्दै तेस्रो, पाकिस्तान ३१ स्वर्ण, ४१ रजत र ५९ कास्यसहित कूल १३१ जितेर चौथो, बङ्गलादेश १९ स्वर्ण, ३२ रजत र ८७ कास्यसहित कूल १३८ पदक जितेर पाँचौं, माल्दिभ्स एक स्वर्ण र चार कास्य गरी कूल पाँच पदक जित्दै छैटौं तथा भूटान सात रजत र १३ कास्यसहित कूल २० पदक जित्दै साग पदक तालिकाको अन्तिम स्थानमा रह्यो ।

साग पदक तालिका:

padak_sag

चौधौं साग पाकिस्तानमा
साग १४औं संस्करण पाकिस्तानले आयोजना गर्नेछ । चौधौं साग आयोजनाको जिम्मेवारी पाएको पाकिस्तानलाई मंगलबार झण्डा हस्तान्तरण गरिएको छ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्ष सइद आरिफ हसनलाई १४औं साग आयोजनाको झण्डा हस्तान्तरण गरे । दक्षिण एशियाली ओलम्पिक काउन्सिलको बैठकले आगामी संस्करणको साग आयोजना गर्ने जिम्मेवारी पाकिस्तानलाई दिने निर्णय गरेको थियो । पाकिस्तानले आगामी छ महिनाभित्र १४औं सागको मिति तथा स्थान तय गर्ने जनाएको छ ।

Advertisement

Advertisement

Advertisement