अनलाइन ठगी र बैंकको सिस्टम ह्याक गर्ने गिरोहका ३ जना पक्राउ

Advertisement

काठमाडौँ । अनलाइन ठगी र बैंकको सिस्टम हृयाक गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा फुलपाका ५२ वर्षीय रमेश खड्का, नवलपरासी रामग्रामका ३७ वर्षीय विशेश्वरप्रसाद तिवारी र संदीप कलवार रहेका छन् ।

पक्राउ परेकाहरुले अनुसन्धानका क्रममा गत असोजमा कृषि विकास बैंकको हृयाकिङमा संलग्नहरुसँग समेत सम्बन्ध रहेको बताएको प्रहरीले जनाएको छ । यो समूहको १७ वटा बैंकमा १४ करोड रुपैयाँको कारोबार भएको देखिएको छ । ह्याकरहरुलाई नेपाली एजेन्टले १५ देखि २० प्रतिशत कमिसनमा उनीहरुलाई साथ दिएको देखिएको प्रहरी अनुसन्धानले देखाएको बुझिएको छ ।

महानगरीय अपराध महाशाखाका अनुसार सामाजिक सञ्जालमा जोडिएर विदेशबाटै ठगीमा सक्रिय रहेका समूहको नेपालको बैंक ह्याकिङमा समेत संलग्नता देखिएको छ। नाइजेरिया तथा भारतीय नागरिकले विभिन्न मुलुकमा बसी भाइबर, ह्वाट्स एप, इमो, फेसबुकमार्फत् अनलाइन चिठ्ठा परेको भन्दै ठगी गर्दै आएको प्रहरीले जनाएको छ ।

ह्याकर गिरोहले कृषि विकास बैंक र पानस रेमिट ह्याक भएर रकम झिकिएको खुलासा भइसकेको छ । प्रहरीका अनुसार बैंक अफ काठमाण्डू, प्रभु, मेगा, हिमालयन, सनराइज, सिटिजन्स, नविल, माछापुछ्रे, एसबीआइ, नेपाल बंगलादेश, ग्लोबल आइएमइ, एनआइसी एसिया, स्ट्यान्डर्ड चार्टर्ड, एनएमबी, सिद्धार्थ, लक्ष्मी तथा लुम्बिनी विकास बैंकबाट कारोबार गरिएको देखिएकाले ती सबैमा ह्याकिङको सम्भावना रहेको छ ।

Advertisement

Advertisement

Advertisement