सेयर बजारमा निरन्तर उछाल, यस्तो रहेछ कारण

Advertisement

काठमाडौं । आइतबारदेखि बुधबारका बीचमा सेयर बजार २९.५५ अंकले बढेको छ । यो हप्ता नेप्से परिसूचक मात्रै नभएर कारोबार रकममा पनि उल्लेख्य वृद्धि भैरहेको देखिन्छ ।

आइतबार २८ करोडको कारोबार भएको थियो भने सोमबार त्यो आँकडा ४८ करोडमा पुग्यो । मंगलबार आईपुग्दा ५० करोड मूल्य बराबरको सेयर किनबेच भएको थियो । बुधबार १०.११ बिन्दुले नेप्से परिसूचक वृद्धि हुँदा कारोबार रकम ५५ करोड पुग्यो ।

किन बढ्दैछ बजार ?
सेयर बजारका पण्डितहरुले बजार कोर्ष करेक्सनको बाटोमा अघि बढेको दावी गर्न थालेका छन् । नेपाल इन्भेष्टर्स फोरमका महासचिव राजन लम्सालले बजार घट्ने ठाउँ सकिएकाले स्वभाविक रुपमा बढ्न थालेका बताए । ‘बजार घटेर निकै तल पुगिसकेको थियो, त्यो भन्दा तल जाने ठाउँ पनि थिएन, त्यसकारण उकालो चढ्न थालेको हो’, महासचिव लम्सालले भने ।

सेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा प्रसाद फुल्लेलले भने–‘लाभांश राम्रो आयो, बजार धेरै घटिसकेको थियो, बैंकहरुले पनि ब्रोकरकैमा पुगेर ऋण लिन प्रोत्साहन गरिररहेका छन् । अब घट्ने ठाउँ पनि थिएन् । बियरिस ट्रेण्ड सकिएपछि बजार बढ्न थाल्यो ।’

ब्रोकर एसोसियसनका अध्यक्ष भरत रानाभाटले पनि बजार कोर्ष करेक्सनको ठाउँमा आइपुगेको बताए । ‘बैंकको आधार ब्याजदर घटेको छ, लगानी योग्य पुँजीको अभाव छैन् । बैंकहरुले ब्रोकर कार्यालयमै पुगेर ऋण लिन पठाईदेउ भनिरहेका छन्, त्यसैले बजार बढ्न थालेको हो ।’, रानाभाटले भने ।

लाभांशको आस
सूचिकृत संस्थाहरु त्यसमा पनि बैंक तथा वित्तिय संस्थाहरुले धमाधम लाभांश घोषणा र वितरण थालेका छन् । लघुवित्त कम्पनीहरुको लोभ लाग्दो लाभांश, बाणिज्य बैंकहरुको लाभांश लगायतले लगानीकर्तालाई आकर्षण गरेको बताइन्छ । बैंकमा निक्षेप राख्दा पाइने ब्याजदर भन्दा सेयर बजारबाट प्राप्त हुने प्रतिफलको आकार बढी हुन थालेपछि पनि लगानीकर्ता आकर्षित भएका हुन् ।

ब्रोकर कार्यालय धाउन थाले बैंक
त्यसो त बैंकमा तरलता बढेपछि यतिबेला बैंकका कर्मचारीहरु ब्रोकर कार्यालय धाउन थालेका छन् । बैंकका कर्मचारीले ब्रोकर कार्यालय धाएर ऋण लिन पठाईदेऊ भन्न थालेपछि लगानीकर्ताको मनोबल बढ्न थालेको हो । यतिबेला सेयर बजारका लगानीकर्ताले सजिलै र पहिले भन्दा न्युन ब्याजदरमा ऋण पाउन थालेका छन् ।

Advertisement

Advertisement

Advertisement