धितोपत्र बोर्डमा भाले भिडन्त, शक्ति केन्द्र रिझाउने यस्तो छ प्रयास

Advertisement

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न यतिबेला ८ भाइबिच भाले भिडन्त देखिन्छ । सबै उम्मेदवारले राजनीतिक लबिङ तिब्र पारेका छन् । यद्यपी भिष्म कुमार ढुंगाना, डा. नवराज अधिकारी र निरु सारु मगरले भने शक्ति केन्द्रहरुमा राम्रै दौडधुप गरिरहेका छन् ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कात्तिक २० गते राष्ट्रिय योजना आयोगका सदस्य राम कुमार फुयाँलको संयोजकत्वमा राजश्व सचिव शिशिर ढुंगाना र आइक्यान अध्यक्ष कृष्ण आचार्य सदस्य रहेको छनौट समिति गठन गरेका थिए । सो समितिले आव्हान गरेको मिति भित्र ८ जनाले आवेदन दिएका छन् र लबिङलाई तिब्रता दिइरहेका छन् ।

बोर्ड अध्यक्षका लागि नेपाल राष्ट्रका पूर्व कार्यकारी निर्देशक तथा हाल बोर्डका सञ्चालक रहेका भिष्म कुमार ढुंगाना, बोर्डका कार्यकारी निर्देशक निरज गिरी, उप निर्देशक डा. नवराज अधिकारी, नेप्सेका पूर्व जिएम सिताराम थपलिया, ब्रोकर कम्पनीका मालिक नरेन्द्र सिँजापति, निल सारु मगर, डा. केशब प्रसाद श्रेष्ठ र डा. बलराम पाठकले आवेदन दिएका छन् ।
यीमध्ये ढुंगाना, डा. अधिकारी र निल सारु मगरलाई प्रबल दावेदार मानिएको छ ।

भिष्म ढुंगाना
उनी नेपाल राष्ट्र बैंकका अवकास प्राप्त कार्यकारी निर्देशक हुन् । यतिबेला ढुंगाना धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यको जिम्मेवारीमा छन् । उनको पहिलो प्राथमिकता भने नेपाल राष्ट्र बैंकको गभर्नर पद हो । तर गभर्नरका लागि ग्रिन सिग्नल नपाएपछि उनले बोर्ड अध्यक्षका लागि आवेदन दिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको प्रिय पात्र मानिन्छ । राष्ट्रपति भण्डारीले नै ढुंगनालाई अध्यक्ष बनाउने आश्वासन दिएको श्रोत बताउँछ । भण्डारीले अडान लिएमा ढुंगाना अध्यक्ष बन्नेमा धितोपत्र बोर्डकै कर्मचारी पनि विश्वस्त रहेको देखिन्छ ।

डा. नवराज अधिकारी
उनी यतिबेला धितोपत्र बोर्डको उप कार्यकारी निर्देशकको जिम्मेवारीमा छन् । पुँजी बजारबारे विद्यावारिधी गरेका उनलाई नेकपा अध्यक्ष प्रचण्डको साथ रहेको छ । त्यस बाहेक उनले बामदेव गौतम र महेश बस्नेतसँग पनि अध्यक्षका लागि लबिङ गरिरहेका छन् । प्रचण्डले राष्ट्र बैंकको गभर्नर वा धितोपत्र बोर्डका अध्यक्षमध्ये एउटा पद आफुलाई चाहिने भनेको अवस्थामा उनी अध्यक्ष बन्ने श्रोत बताउँछ । छनौट समितिका संयोजक फुयाँल पनि डा. अधिकारी प्रति सकारात्मक रहेको उनी निकट श्रोतले बतायो ।

निल सारु मगर
धितोपत्र बोर्डका पूर्व सञ्चालक रहिसकेका मगर पेशाले चाटर्ड एकाउन्टेन्ट हुन् । उनको नेकपा महासचिव बिष्णु पौडेलसँग निकै राम्रो सम्बन्ध छ । बिष्णु पौडेलले अडान लिएको खण्डमा ओलीले ‘नाई’ भन्न नसक्ने श्रोत बताउँछ ।

५ भाईबारे
बोर्डका कार्यकारी निर्देशक निरज गिरी काँग्रेस निकट कर्मचारी हुन् । उनले आफ्नो फेसबुकमै काँग्रेसलाई भोट मागेको तस्विर राखेका छन् । विषयवस्तु बुझेको र बोर्ड चलाउन सक्ने व्यक्तिका रुपमा हेरिए पनि उनलाई नेकपाले अध्यक्ष बनाउन भने त्यति सहज नभएको श्रोत बताउँछ ।

नेप्सेका पूर्व जिएम सिताराम थपलिया, ब्रोकर कम्पनीका मालिक नरेन्द्र सिँजापति, डा. केशब प्रसाद श्रेष्ठ र डा. बलराम पाठकले आवेदन दिएका छन् । तर यी कुनै पनि आवेदकको अध्यक्ष बन्ने सम्भावना नरहेको बताइन्छ । यद्यपी डा. केशब प्रसाद श्रेष्ठ र डा. बलराम पाठकले कसैको आश्वासन पाएरै आवेदन दिएका त होइनन् ? भन्ने आशंका पनि गरिएको छ ।

८ भाईको भाले भिडन्तमा अन्तिममा बाजी कस्ले मार्छ भन्ने कुरा भने अझै एक हप्तापछि मात्रै पत्ता लाग्नेछ । छनौट समितिले आवेदकहरुमध्येबाट ३ जनालाई छनौट गरेर मन्त्रिपरिषदमा पठाउनेछ ।

Advertisement

Advertisement

Advertisement