टाइगर टप्स रिसोर्टसँगै १२ वर्षदेखि बन्द रहेको मेघौली विमानस्थल सञ्चालनमा चासो

Advertisement

रत्ननगर । १२ वर्षअगाडि बन्द भएको मेघौली विमानस्थल चलाउन सरोकारवालाको चासो देखाएका छन् । भरतपुरबाट २५ किलोमिटर पश्चिममा रहेको मेघौली विमानस्थल साना जहाजहरु अवतरण गर्न सकिने भए पनि यसलाई विकल्पका रुपमा पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।

भरतपुर विमानस्थलको धावनमार्ग मर्मत गर्न १० दिनभन्दा बढी भरतपुरबाट कुनै पनि उडान भएनन् । यहाँबाट दैनिक १२ भन्दा बढी उडान हुँदै आएको थियो । मेघौली विमानस्थलमा कालोपत्र धावनमार्ग नहुनु मुख्य समस्याका रुपमा देखिएको छ । प्रदेश सांसद कृष्ण भुर्तेलले भरतपुर विमानस्थलमा बन्द हुँदा यहाँ जहाज ल्याएरे बानी पार्नुपर्ने बताए । यसमा सबैभन्दा पहिला विमान कम्पनी सकारात्मक हुनुपर्ने उनको भनाइ छ ।

धावन मार्ग कालोपत्र गर्न सकेको भए जहाज ल्याउन सकिने थियो भुर्तेलले भने, “हामीले यो विषयमा धेरै पटक बहस छलफल गर्यो तर बहसमा मात्रै भयो, चलाउन सकिएन ।” भरतपुर विमानस्थलको धावनमार्ग भन्दा मेघौलीको २०० मिटर लम्बाइ कम छ । भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले भने, “मेघौलीको विमानस्थलमा घाँसेमैदान भएकाले साना जहाजमात्र अवतरण हुन्छ, ठूलालाई लम्बाइ पुग्दैन ।” मेघौली विमानस्थलको लम्बाइ एक हजार मिटर छ ।

बाह्र वर्षअगाडि टाइगर टप्स रिसोर्ट सञ्चालनमा हुँदा यस विमानस्थलमा जहाज आउने गरेको थियो । २०७२ सालको वैशाख १ गते चौधरी गु्रपले सानो जहाज चार्टर गरेर ल्याएको थियो । त्यसपछि पनि चार्टर गरेर थोरै सङ्ख्यामा यहाँ जहाज आएको छ, तर नियमित रुपमा यहाँ जहाज चल्न सकेको छैन ।

पर्यटन वर्ष २०२० आउँदै गर्दा जिल्लामै रहेको विमानस्थल सञ्चालन हुन नसक्नु दुःखको कुरा भएको पर्यटनकर्मीले बताएका छन् । चितवन पर्यटन विकास समितिका महासचिव विश्व सुवेदीले धावन मार्गको घाँस काटेर सफा बनाइयो तर कुनै जहाज कम्पनीले इच्छा देखाएनन् ।

सरकारले नयाँ पर्यटकीय गन्तव्यका रुपमा मेघौलीलाई लिएको छ, तर यहाँको विमानस्थल सञ्चालन गर्न सकिएन उनले भने । मेघौली क्षेत्रमा स्टार तहका होटलहरु चारवटा रहेका छन् । निकुञ्जको जगल सफारी, नारायणी राप्ती नदीको सङ्गमस्थलबाट सूर्यास्त देख्न सकिन्छ । यहीँबाट एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली जनावर सजिलै देख्न सकिन्छ ।

‘जिल्लाको अन्य स्थानमा भन्दा यहाँ जङ्गली जनावर सजिलै हेर्न सकिन्छ होटलहरु पनि छन् तर यहाँको महत्व बुझ्न सकेनन्”, सुवेदीले भने । उनले भरतपुर विमानस्थल मर्मतका लागि १० दिन बन्द हुँदा यहाँबाट जहाज सञ्चालन गर्न सकेको भए यहाँको प्रचार अझै बढेर जाने थियोे भने । बुद्ध एयरका भरतपुर स्टेशन म्यानेजर भक्तबहादुर बस्नेतले जोखिम मोलेर घाँसेमैदानमा जहाज अवतरण गराउन नकिने बताउँछन् । रासस

Advertisement

Advertisement

Advertisement