मैले भनेको थिएँ नी ५० स्वर्ण जितिन्छ भनेर, जितिरै छाडियोः सिलवाल

Advertisement

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले आफू परिषदमा आएको छोटो अवधिमा नै धेरै महत्वपूर्ण काम गरेको दावी गरेका छन् ।

रिपोर्टर्स क्लवमा बिहीबार उनले १३औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता तोकिएकै मितिमा सम्पन्न गर्छु भनेर घोषणा गरेको सुनाउँदै भने, ‘म परिषदमा आएको साँढे चार महिना भएको छ, म आउनेबित्तिकै सबैभन्दा पहिलो घोषणा र मेरो ध्यान नै साग गेम निर्धारित मितिमै गराउँछु भनेर बोलेको थिएँ । त्यसको लागि पूर्वाधार निर्माणमा सुरुदेखि नै ध्यान दिएको थिएँ । सबैको साथ र सहयोगले हामीले सफल रुपमा १३औं साग सम्पन्न गर्यौं । यो हामी सबैको लागि खुशीको कुरा हो ।’

सिलवालले सागको लागि चाहिने आवश्यक पूर्वाधार निर्माणको लागि आफूले पहिलो पहलकदमी लिएको पनि सुनाए । उनले भने, ‘केही पूर्वाधार पहिल्यै बनिसकेका थिए । म आएपछि धेरै पूर्वाधार बनायौं । पोखराको रंगशालाको सवालमा पनि मैले प्राकृतिक ग्रासमा जोड दिएँ । १६ हजार ५ सय क्षमताको रंगशालाई विस्तार गरेर २० हजार क्षमताको बनाईयो । त्यहीअनुरुप काम गर्यौं । यो सागमा मात्रै हामीले १३ हजार सिट जडान गर्यौं । अबको तीन महिनाभित्र हामी यसलाई पूर्णता दिन्छौं ।’

सिलवालले वर्षाका कारण पनि पूर्वाधार निर्माणमा केही ढिलाई भएको सुनाए । उनले भने, ‘वर्षाले पनि केही ढिलाई भयो । दशैं, तिहार थियो, त्यसले पनि केही असर गर्यो । यो बीचमा चिनियाँ राष्ट्रपति र बंगलादेशका राष्ट्रपतिको भ्रमण भयो । त्यसले पनि पूर्वाधार निर्माणको काममा ११, १२ दिन ढिला भयो ।’

साग सुरु हुनुभन्दा पहिल्यै नै आफूले नेपालले कम्तिमा पनि ५० स्वर्ण पदक जित्छ भनेर घोषणा गर्दा सुरुमा कसैले पनि नपत्याएको र आशंका गरेको सिलवालले सुनाए । उनले भने, ‘हामीले गरेको लक्ष्यमा आशंका गरियो, यो स्वभाविक पनि थियो । किनकी १२ औं सागमा नेपालले जम्मा तीन स्वर्ण जितेको थियो । यो पटक हामीले राम्रो तयारी गरेका थियौं । खेलाडी, प्रशिक्षकलाई हामीले असार मसान्तबाट क्लोज्ड–क्याम्पमा राखेका थियौं ।’

सागको लागि आफूलाई असोज ६ गतेमात्रै कार्यविधि प्राप्त भए पनि अन्य बजेट र ऋणपान गरेर भए पनि प्रशिक्षणको काम अघि बढाएको सिलवालको भनाई छ । आफूहरुले विभिन्न २१ खेलको विदेशमा प्रशिक्षण गराएको पनि उनले सुनाए । सिलवालले भने, ‘खेलाडीहरु पनि उत्साहित थिए । उनीहरुमा उमंग थियो । हामीले प्राक्टिसमात्रै गराएनौं, उनीहरुलाई विभिन्न प्रतिष्पर्धामा पनि उतारेका थियौं । एक खेलाडीले कम्तिमा पनि तीन प्रतिस्पर्धामा भाग लिएका थिए ।’

सिलवालकाअनुसार ८औं सागमा नेपालले ३१ स्वर्ण जिते पनि २८ वटा स्वर्ण कराँते र ताईक्वान्दोबाट प्राप्त भएको थियो । नेपाली जनताको आर्शिवादको कारणले १३औं सागमा यो परिणाम हाँसिल गर्न सफल भएको उनको भनाई छ ।

सिलवालले सागको उद्धघाटन समारोह कस्तो होला ? भनेर पनि आम जनतामा चासो र कौतुहलता थियो भन्दै थपे,‘दशरथ रंगशाला निर्माणाधिन थियो । हामीले सशस्त्र, नेपाली सेना, नेपाल प्रहरी र विभिन्न स्कुलमा तयारी गरेका थियौं । उद्घाटनपनि राम्रै भयो ।’ उनले सागको व्यवस्थापनको सवालमा झिनामसिना अवस्थाबाहेक सबैमा सफल भएको पनि दाबी गरे ।

खेलाडीहरुले यसअघिका प्रतियोगितामा होटलको बारेमा विभिन्न गुनासोहरु पोख्ने गरेकोमा योपटक कुनै गुनासो नआएको सिलवालले जिकिर गरे । उनले भने, ‘नेपाली खेलाडीहरुलाई हामीले चारतारे र पाँचतारे होटलमा राख्यौं । उनीहरु खुशी थिए । यसले खेलाडीमा पनि उच्च मनोवल थपिएको थियो । खेलाडीहरुलाई मोटिभेशनल क्लास गर्यौं । एन्टी डपिङबारे क्लास दियौं ।’

सदस्यसचिव सिलवालले आफूहरुले यसअघिका स्वर्णपदक, रजत, कास्य पदक विजेता नेपाली खेलाडीहरुसँग पनि प्रतिष्पर्धी खेलाडीहरुसँग अन्तरक्रिया गराएको पनि सुनाए । उनले भने, ‘रोलमोडल खेलाडी र विज्ञहरुसँग खेलाडीहरुसँग अनुभव आदानप्रदान गरायौं । उनीहरुलाई गीत–संगितको माध्यमबाट रिफ्रेश गरायौं ।’ सिलवालले खेलाडीहरुको लागि आफूहरुले डाईटिसियन र न्यूट्रिसियनपनि राखेको सुनाए । ‘खेलाडीहरुको लागि सन्तुलित भोजनको पनि व्यवस्थापन गरेका थियौं ।’ उनले साग समापन नहुञ्जेलसम्म कुनैपनि विवाद नआओस भनेर आफूले कडा निर्देशन दिएकोले सबै एक भएर प्रतियोगिता सफल बनाउन लागेको पनि स्मरण गराए ।

सिलवालले खेलाडीहरुको लागि बुधबार नगद पुरस्कार पनि घोषणा गरेको जनाउँदै स्वर्ण जित्नेलाई ९ लाख, रजत पदक विजेतलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख दिने बताए । उनले भने, ‘टिम ईभेन्टमा स्वर्ण जित्नेलाई जनही ५ लाख दिने भनेका छौं । यो रकम कम भयो भन्ने पनि कुरा सुनियो । फुटबलको कुरा गर्दा २३ जनालाई जनही ५ लाखको दरले दिँदा एक करोड १५ लाख हुन्छ ।’ उनले ग्रुप र इण्डिभिज्युलको लागि स्पेशल प्याकेज पनि घोषणा गर्नसकिने बताए ।

यद्यपी सिलवालले सरकारले खेलाडीहरुको लागि घोषणा गरेको पुरस्कार विगतको भन्दा दोब्बर भएको दावी गरे । उनले भने, ‘हामीले हिजोको भन्दा दोब्बर पुरस्कार दिने घोषणा गरेका छौं । यसलाई कम भन्न मिल्दैन् । प्रधानमन्त्रीज्यूले पनि यो पुरस्कारलाई यत्तिकैमा सिमित गरिँदैन् भन्नुभएको छ । पुरस्कारको राशीलाई बढोत्तरी गर्ने भन्नुभएको छ । यो सुरुवात हो, अन्तिम होईन् । अब खेलाडीले पनि ध्यान दिनुपर्छ ।’

नेपालको खुलकुद क्षेत्रले क्रमिक रुपमा सुधार र छलाङ गर्दै अघि बढेको पनि सिलवालको दावी छ । उनले भने, ‘खेललाई उत्पादनशील क्षेत्रको रुपमा अघि बढाउँछौं । फुटबलको कुरा गर्दा अब हामी लिग खेल सुरु गर्दैछौं । यही २८ गतेबाट लिग सुरु गर्छौं । क्रिकेट, भलिवलको पनि लिग खेलाउँछौं । व्यवसायिक घरानासँग लिगको लागि कुरा राखेका छौं । खेलाडीहरुको जीवनस्तर उकास्ने र वृद्धि गर्नेगरि हामी अघि बढ्छौं ।’ खेलमै लागेको कारण खेलाडीहरुलाई अभिभावकले बिग्रिए भन्ने वातावरणको अब अन्त्य हुनेपनि उनले घोषणा गरे ।

सिलवालले खेलाडीहरु अब ग्रास–रुटबाटै उत्पादन गरिने पनि जानकारी दिए । उनले भने,‘यसको लागि पुसको अन्तिमबाट हामीले १६ वर्ष मुनिको राष्ट्रपति र उपराष्ट्रपति कपको आयोजना गर्दैछौं । जिल्ला, प्रदेश हुँदै संघमा खेलाडी ल्याउँछौं । त्यसपछि राम्रो खेलाडीलाई चयन गर्नको लागि ‘ट्यालेन्ट–हन्ट’को पनि आयोजना गर्छौं ।’ त्यतिमात्रै नभएर सिलवालले खेलाडीहरुको अब रजिष्ट्रेशनपनि गरिने बताए । उनले भने, ‘उनीहरुको सिभी, बायोडाटा अनलाईनमार्फत नै हेर्न मिल्नेगरि राखिन्छ ।’ त्यस्तै, उनले खेलाडी, प्रशिक्षक तथा खेलसम्बद्ध व्यक्तिहरुको सुविधाको लागि दरशथ रंगशाला परिसमा सुविधासम्पन्न ‘फिजिकल–सेन्टर’ बनाईने महत्वकांक्षी घोषणा गरे । उनले भने, ‘हामीले बनाउने फिजिकल सेन्टरमा साउना, जाकुजी, जुम्बा, आईस सेन्टरसम्मको सुविधा प्रदान गर्छौं ।’

आगामी चार वर्षभित्र ७ वटै प्रदशेमा अन्तर्राष्ट्रियस्तरको रंगशाला बनाउने पनि उनले जिकिर गरे । सिलवालले भने, ‘नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनबाट गण्डकी प्रदेशमा आयोजना गर्दैछौं । तीन महिना अघि नै न्यूनतम आधारभूत संरचना पूरा गरिसक्छौं ।’

उनले सागमा भएको सम्पूर्ण खर्चको हिसाबकिताब आफूले ९० दिनभित्र सबै बाहिर ल्याउने बताए । सिलवालले भने, ‘सबै हिसाबकिताब म तपाईंहरुलाई जानकारी गराउँछु ।’ सागमा पदक जित्ने खेलाडीहरुलाई भोलि विहान ११ बजे दशरथ रंगशालाबाट नगरपरिक्रमा गराउने पनि सिलवालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement