इन्स्योरेन्स इन्स्टिच्युटको एग्रेशिभ मुभः एक हजारले तालिम लिए, ६० लाख आम्दानी

Advertisement

काठमाडौं । बीमा सम्बन्धी तालिम सञ्चालनका लागि स्थापना गरिएको इन्स्योरेन्स इन्स्टिच्युट नेपालले एग्रेशिभ मुभ लिएको छ । २०७५ साउन ६ गते स्थापना भएको कम्पनीले एक हजार ३९ जनालाई बीमा सम्बन्धी तालिम दिईसकेको छ ।

तालिम लिनेहरु अधिकांश बीमा कम्पनीका कर्मचारी छन् भने केहि बीमा समितिकै नयाँ नियुक्त भएका कर्मचारीले समेत बीमा सम्बन्धि तालिम लिएका छन् । इन्स्टिच्युटले बीमा कम्पनीका सञ्चालक र अध्यक्षहरुलाई समेत तालिम दिईसकेको छ ।

इन्स्टिच्युटले यो अवधीमा आयोजना गरेको तालिमबाट ६० लाख २६ हजार आम्दानी गरिसकेको छ । कम्पनीले गत चैतदेखि असार मसान्त अवधीसम्म ३० लाख ७८ हजार रुपैयाँ आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा भने थप २९ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको प्रमुख कार्यकारी अधिकृत भोजराज शर्माले बताए ।

इन्स्टिच्युटले तालिम दिएका कर्मचारीहरुको कार्य क्षमतामा सुधार आएको अध्यक्ष तथा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेलले बताए । इन्स्टिच्युटले कुनै पनि बीमा कम्पनीले आफ्ना कर्मचारीका लागि बिशेष तालिमका माग गर्दा सोही अनुसारको तालिम दिने गरेको छ । केहि कम्पनी मिलेर तालिमको काम गर्दा सोही अनुसारको तालिम दिने गरेको छ । ‘कम्पनीहरुले मागे अनुसारको तालिम दिने गरेका छौं, सुरुमा हामी आफैंले तालिम लिन आउनुस भन्ने गरेका थियौं, आजकल कम्पनीहरु यस्तो तालिम चाहियो भन्दै आउन थालेका छन’, इन्स्टिच्युटका अध्यक्ष पौडेलले भने ।

इन्स्टिच्युटले प्रदेशस्तरिय तालिम कार्यक्रम समेत आयोजना गरिरहेको छ । यहि क्रममा हालसम्म सुदुरपश्चिम प्रदेश, ५ नम्बर प्रदेश र गण्डकी प्रदेशमा त्यस्तो तालिम सम्पन्न गरिसकेको सिइओ शर्माले जानकारी दिए । चालु आर्थिक वर्षभित्रै अन्य प्रदेशमा पनि बीमा कम्पनीका शाखा प्रमुख र अन्य कर्मचारीहरुको सहभागिता रहने त्यस्तो तामिल चलाइसक्ने पनि उनले बताए ।

एक करोड चुक्ता पुँजी भएको इन्स्योरेन्स इन्स्टिच्युट नेपाल(आईआईएन)मा बीमा समितिको २२ लाख लगानी रहेको छ । नीर्जिवन, जीवन र पुनर्बीमा कम्पनीले २।२ लाख लगानी गरेका छन ।
आइआईआईसँग समझदारी
इन्स्टिच्युटले इन्स्योरेन्स इन्स्टिच्युट अफ इण्डिया(आईआईआई)सँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । इन्स्टिच्युटका अध्यक्ष पौडेल र आईआईआईका अध्यक्ष दिपक गडबोलेले हस्ताक्षर गरेका छन् । अब नेपाल र भारतका दुबै इन्स्टिच्युटले एक अर्का देशमा बीमा सम्बन्धी तालिम सञ्चालनका लागि सघाउनेछन् ।

दुबै कम्पनीले जारी गरेका प्रमाणपत्रहरुलाई एक अर्काे देशका कम्पनीहरुले मान्यता दिनेछन् । दुबै देशका बीमा क्षेत्रका कर्मचारीहरुको एक्सपोजर भिजिटमा पनि सहकार्य हुनेछ ।

Advertisement

Advertisement

Advertisement