चन्द्रागिरिमा हिउँ पर्न शुरु, काठमाडौँ उपत्यकामा चिसो बढ्यो

Advertisement

काठमाडौँ । काठमाडौँ उपत्यकामा शुक्रवार बिहानैदेखि हल्का वर्षा भइरहेको छ । वर्षापछि काठमाडौँ उपत्यकामा चिसो बढेको छ । वर्षासँगै काठमाडौँ उपत्यका वरिपरिका चन्द्रागिरि लगायतका डाँडाहरुमा हिउँ पर्न शुरु भएको छ । हिउँ पर्न थालेपछि हिउँ खेल्नका लागि  भिड बढ्न थालेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक विक्रम शाहले बताए ।

यता,  हल्का वर्षा पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभर पूर्ण बदली भई उच्च पहाडी र हिमाली भू–भागमा हिमपात भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम विज्ञान विभाग महाशाखका अनुसार हुम्ला, डोल्पा, मुगुलगायतको उच्च पहाडी तथा हिमाली जिल्लामा हिमपातसँगै जनजीवन प्रभावित भएको छ । बुधबार साँझ नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेकाले विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।

यसका साथै आज काठमाडौँ उपत्यकासहित देशको पश्चिमी पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताए । देशको पश्चिमी भू–भागका केही स्थानमा हावाहुरी आउने सम्भावना पनि छ, उनले भने ।

पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले एक्कासी बिग्रिएको मौसम शनिबार बेलुकाबाट क्रमश सुधार हुँदै जाने बताइएको छ । राति देशभर सामान्य बदली रही पश्चिमी भेगका केही स्थानहरुमा मेघ गर्जनसहित हल्का वर्षा साथै पश्चिमी उच्च पहाडीसहित हिमाली भू–भागमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ ।

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्का वर्षा हुने छ । आइतबार देशको पश्चिमी भू–भागमा सामान्य बदली र मध्य तथा पूर्वका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमको केही स्थानहरुमा साथै मध्य र पूर्वका पहाडी भू–भागमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम १६ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

Advertisement

Advertisement

Advertisement