पाँच बर्षदेखि रोकिएको ए डिभिजन लिगको तयारी, १४ समूह सहभागी हुँदै

Advertisement

काठमाडौं । मच्छिन्द्र र ब्रिगेड ब्वाइज क्लब बीचको खेलसँगै यस वर्षको कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल सुरु हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले करिब पाँच वर्षको अन्तरालपछि दशरथ रंगशालामा ‘ए’ डिभिजन लिग खेलाउन लागेको हो। एन्फाभित्रको बिवाद र विसं २०७२ सालको भूकम्पका कारण रंगशालामा क्षतिका कारण पाँच वर्षदेखि रोकिएको लिग एन्फामा नयाँ नेतृत्व आएसँगै गत वर्ष एन्फा कम्प्लेक्स सातदोबाटोमा सञ्चालनमा आएको थियो।

एन्फाले गत वर्ष १४ टोलीबीच रेलिगेसनविनाको लिग गराइएपछि निकै आलोचित बनेको यो। गत वर्ष एन्फाले लिगमा पुछारको अन्तिम दुई टोलीलाई नयाँ सिजनमा क्रमशः २ अंक र एक अंक घटुवा गर्ने निर्णय गरेको थियो। जसअनुसार गत सिजन १४औं स्थानको न्युरोड टिम (एनआरटी)को २ अंक घटुवा गरिनेछ भने १३औं स्थानको मच्छिन्द्रको १ अंक घटाइनेछ।

लिगमा मनाङ मस्र्याङ्दी, थ्री स्टार, मच्छिन्द्र, संकटा, जावलाखेल, त्रिभुवन आर्मी, एपिएफ, नेपाल पुलिस, एनआरटी, च्यासल युवा, प्रेरुन्ड्स, सरस्वती, ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लब गरी कुल १४ टोलीको सहभागिता रहनेछ। राउन्ड रोबिनका आधारमा हुने लिगमा प्रत्येक टोलीले समान १३ खेल खेल्नेछन् र अन्तिम स्थानमा रहने एक टोली रेलिगेसनमा पर्नेछ।

लिगविजेताले अघिल्लो संस्करणको जस्तै नगद ५० लाख र उपविजेताले ३५ लाख रुपियाँ प्राप्त गर्नेछन्। तेस्रो, चौथो, पाँचौं र छैटौं स्थानका टोलीले क्रमशः नगद २५ लाख, १५ लाख, ७ र ५ लाख प्राप्त गर्नेछन्। लिगको तयारीका लागि सहभागी सबै टोलीलाई समान २० लाख दिइएको छ। प्रत्येक खेलको विजयी टोलीले नगद ५० हजार रुपियाँ प्राप्त गर्नेछ भने बराबरी भएको खण्डमा दुवै टोलीले समान नगद १५ हजार हात पार्नेछन्।

म्यानअफ दी म्याचले नगद १० हजार र फेयर प्ले टोलीले नगद १ लाख रुपियाँ पाउनेछन्। लिगमा उत्कृष्ट ५ (गोलकिपर, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षक)ले जनही नगद १ लाख ५० हजार हात पार्नेछन्। यसअघि यी विधाका विजेतालाई मोटरसाइल प्रदान गरिँदै आएको थियो। त्यो प्रक्रिया झन्झटिलो भएकाले यस पटकबाट नगदको व्यवस्था गरिएको एन्फाले जनाएको छ।

नयाँ सिजनको सुरुआतसँगै साबिकको विजेता मनाङ लिग उपाधि रक्षा गर्ने लक्ष्यमा हुनेछ भने आर्मी, थ्री स्टार र नेपाल पुलिस सम्मानजनक स्थान प्राप्त गर्ने लक्ष्यमा हुनेछन्। यता राष्ट्रिय टोलीका ९ खेलाडीसहितको मच्छिन्द्रलाई यस पटक उपाधिको दाबेदारको रूपमा हेरिएको छ।

एन्फाले लिगको पूर्वसन्ध्यामा शुक्रबार दशरथ रंगशालामा आयोजना गरेको टिम तयारीबारे पत्रकार सम्मेलनमा सहभागी १४ क्लबमध्ये ९ क्लबका प्रशिक्षकले आफ्नो तयारी र लक्ष्यको बारेमा बताए। थ्री स्टार, प्रेरुन्ड्स, संकटा, जावलाखेल युथ र सरस्वती क्लबका प्रतिनिधिहरू भने उपस्थित भएनन्।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement