नेपाल ट्रष्टले गोकर्ण रिसोर्ट फेरि २५ बर्षका लागि यति समूहलाई दियो

Advertisement

काठमाडौँ । सरकारले गोकर्ण फरेस्ट रिसोर्ट, त्यहाँ रहेको गल्फ कोर्स र जंगल क्षेत्र निकै सस्तो दरमा थप २५ वर्षका लागि फेरि यति होल्डिङ्स प्रालिलाई नै दिएको छ । सरकारी स्वामित्वको उक्त सम्पत्ति प्रयोगबारे पुरानो सम्झौताको म्याद सकिनु ६ वर्ष बाँकी छँदै यतिलाई समय थपिएको हो ।

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको नेपाल ट्रस्ट सञ्चालक समितिको सिफारिसमा गत सोमबार मन्त्रिपरिषद् बैठकले समय थप्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले गरेका अन्य निर्णयहरू गत बिहीबार सार्वजनिक गरिए पनि यसबारे खुलाइएको छैन ।

गोकर्णेश्वर नगरपालिकामा पर्ने, झन्डै २८ सय रोपनीमा फैलिएको उक्त रिसोर्ट र गल्फ कोर्सका निम्ति यतिले प्रतिरोपनी ५ सय ६४ रुपैयाँ मात्र मासिक भाडा तिर्दै आएको छ । यति होल्डिङ्स गत वर्ष ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका व्यवसायी आङछिरिङ शेर्पाले अगाडि बढाएको कम्पनी हो । यतिलाई सत्तारूढ नेकपाका केही नेताले संरक्षण दिने एवं प्रवर्द्धन गर्ने गरेको आरोप लाग्दै आएको छ ।

उपप्रधान तथा रक्षमन्त्री पोखरेलले भाडा र समय थप गर्ने विषयमा बृहत् अध्ययन गरेर निर्णय गरिएको बताए । ‘नेपाल ट्रस्ट मातहतको सम्पत्ति अहिले जसले भाडामा पाएको छ, उसैलाई एकपटक समय थपिदिन पाइने व्यवस्था ऐनमा रहेछ,’ उनले भने । तत्कालीन राजपरिवारका जग्गा एवं सम्पति गणतन्त्र स्थापनापछि राष्ट्रियकरण गरी नेपाल ट्रस्टअन्तर्गत ल्याइएको थियो ।

रक्षामन्त्री पोखरेलले यति होल्डिङ्सबाट अब कति भाडा आउँछ भन्ने खुलाएनन् । ‘ठ्याक्कै कति भाडा आउँछ भन्न सकिँदैन तर अहिलेभन्दा पाँचरसात गुणा बढी भाडा आउँछ,’ उनले भने ।

गोकर्ण रिसोर्ट २७ सय ९३ रोपनी क्षेत्रफलमा फैलिएको छ । पुरानो सम्झौताअनुसार सरकारले ३० वर्षका लागि अधिकतम ५० लाख अमेरिकी डलर (हालको विनिमय दरअनुसार ५६ करोड ७५ लाख रुपियाँ) मात्र भाडा पाउँछ । यसलाई वर्गीकरण गर्दा यतिले अहिले प्रतिरोपनी मासिक ५ सय ६४ रुपियाँमै उक्त मूल्यवान सम्पत्ति प्रयोग गर्न पाइआएको देखिन्छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement