बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार

Advertisement

काठमाडौं । महानगरपालिका (कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद् व्यवस्थापन गर्न दमकल सेवा विस्तार गरिएको जानकारी दिए ।

साठी मिटर अग्लो भर्याङ र छ हजार लिटर पानीट्याङ्की क्षमताको दमकल खरीद प्रक्रियामा रहेका छन् । महानगरको २५औँ वार्षिकोत्सवको अवसरमा सो स्थानमा नवनिर्मित महानगर वारुणयन्त्र तथा तालीम केन्द्रको शनिबार उद्घाटन समेत भएको छ ।

गोकर्णेश्वर, कागेश्वरी मनोहरा, शङ्करापुर र बूढानीलकण्ठ नगरले पनि केन्द्रबाट लाभ उठाउन सक्नेछन् । अग्नि नियन्त्रण शाखा प्रमुख लीलाराज गाछाका अनुसार केन्द्रमा एक दमकल, एक भर्याङ, एक रेस्क्यु जीप र दुई फायरबाइक राखिएका छन् । साथै यी उपकरण सञ्चालन गर्न १५ अग्नि नियन्त्रक २४सै घण्टा परिचालित हुनेछन् ।

रु आठ करोड ६१ लाख १६ हजार ९९ सम्पन्न सो केन्द्र तीन रोपनी जमीनमा फैलिएको छ । यसैगरी एक लाख ५० हजार लिटर क्षमताको पानीट्याङ्की ,अग्नि नियन्त्रक, तीन दमकल, तालीमका लागि दुई सुविधासम्पन्न कार्यक्रमस्थल रहेका छन् । विसं २०७५ साउन २८ शिलान्यास भएको थियो । यसअघि कामपामा एक मात्र दमकल केन्द्र रहेको थियो ।

Advertisement

Advertisement

Advertisement