चीन र भारतमा ५ देखि १५ किलोवाटको विद्युतीय ट्याक्सी चल्ने, नेपालमा ४५ किलोवाटको चाहिने ?

Advertisement

काठमाडौं । चीनमा पाँच किलोवाटको ट्याक्सी निर्वाधरुपमा सञ्चालन हुँदै आएको छ भने भारतमा १५ किलोवाटको ट्याक्सी सञ्चालनको तयारी भइरहेको छ । तर काठमाडौंमा भने ४५ किलोवाट अर्थात एक हजार दुई सय सीसी क्षमताको इन्जिनयुक्त विद्युतीय ट्याक्सी चाहिने नियम बनाइएको छ ।

एक हजार दुई सय किलोवाट क्षमताका विद्युतीय टेम्पोहरुले १० देखि १२ जना यात्रुहरुलाई सजिलै बोकेर हिँडिरहेको उदाहरण देख्दादेख्दै सरकारले बदनियतपूर्ण तरिकाले महंगो र काठमाडौंका सडकहरुलाई अनुपयुक्त खालका ट्याक्सीहरु आयात गर्न नयाँ नियमावली जारी गरेको छ । नेपालको भूबनोटअनुसार १५ किलोवाट देखि बढिमा २५ किलोवाट क्षमताका ट्याक्सीहरु काठमाठौंको उकालो ओरालोमा चार–पाँच जना यात्रु र सरसामान बोकेर सकिलै हिँड्न सक्ने विद्युतीय सवारी साधनका क्षेत्रमा काम गर्दै आएका एक विज्ञ पूर्ण रञ्जितकार बताउँछन् ।

अब ट्याक्सी चलाउनेले नयाँ विद्युतीय गाडि नै ल्याउनुपर्ने अनिवार्य बाध्यता छ । तर सरकारले तोकेको मापदण्डअनुसार ४५ किलोवाट क्षमताको गाडि, त्यो पनि सेडान नै चाहिने भनिएको छ । यसको मूल्य नै ४५ लाख रुपियाँभन्दा बढि पर्ने व्यवासायी बताउँछन् । यति महंगो ट्याक्सीबाट लगानीको प्रतिफल पनि राम्रो नआउने र काठमाडौंका गल्लीहरुमा सेडान ट्याक्सीहरु चलाउन पनि कठिन हुने भएकाले व्यवसायीहरुले यस्ता ट्याक्सीमा लगानी गरेर जोखिम मोल्ने अवस्था देखिन्न् ।

यातायात व्यवस्था कार्यालय स्रोतका अनुसार निवर्तमान भौतिक योजना तथा यातायात मन्त्री रघुवीर महासेठले अमुक कम्पनीको स्वार्थलाई लक्षित गरी ट्याक्सी नियमावली जारी गरेका थिए । विद्युतीय सवारी साधनलाई प्रोत्साहन गरी विद्युत खपत बढाउनुपर्ने बेला विद्युतीय गाडिहरुलाई नै निरुत्साहित हुनेगरी नियमावली ल्याउने काम मन्त्री महासेठले गरेका थिए ।

काठमाडौंका गल्ली, नेपालीको क्रयशक्तिलाई नहेरी महंगो हात्ती ल्याउने कुरा न व्यवसायीको हितका लागि ठिक छ, न उपभोक्ताको लागि ठिक छ, न राज्यको आयात प्रतिस्थानको नीतिका लागि ठिक छ भन्दै स्रोतले नियमावलीलाई पुनः संशोधन जरुरी रहेको बतायो ।

मन्त्री महासेठले बीवाईडी ब्राण्डको विद्युतीय गाडिहरु बिक्री गर्ने साइमेक्स नामक कम्पनीलाई लक्षित गरी नियमावली बनाएको स्रोतको दावी छ । साइमेक्सले आफ्नो ४५ लाख रुपियाँभन्दा बढि पर्ने आफ्ना विद्युतीय कारहरु नेपालमा ट्याक्सीको रुपमा भित्राउने योजनामा रहेको छ । उक्त कम्पनी सिदार्थबहादुर पाण्डेको हो । उनी होटल र्याडिशनको सञ्चालक र काँग्रेस नेता प्रकाशमान सिंहका सम्धी पनि हुन् ।

काठमाडौंमा लोकप्रिय रहेका सुजुकी मारुतीका ट्याक्सीहरु विस्थापित गरेर नयाँ ल्याउँदा अर्बौं रुपियाँको व्यापार र करोडौं रुपियाँको कमिशनको कुरा भएकाले मन्त्री महासेठले पाण्डेको स्वार्थमा ट्याक्सी नियमावली ल्याएका थिए । विज्ञ पूर्ण रञ्जितकारले अब विद्युतीय ट्याक्सीको आयातको विकल्प नभए पनि नेपालको आवश्यकता सुहाउँदो गाडि मात्रै भित्राउनुपर्ने बताउँछन् । धेरै कमजोर पनि होइन्, आवश्यकताभन्दा धेरै महंगो पनि नेपालको बजारले धान्न सक्दैन भन्दै उनले त्यसरी विद्युतीय सवारी साधनहरुलाई प्रवद्र्धन गरिसकेपछि रातिको लागि विद्युतको भाउ सस्तो गरी ती सवारी साधनहरु रातिमा चार्ज गर्ने व्यवस्था सरकारले मिलाउनुपर्ने बताउँछन् ।

अहिले काठमाडौंमा चलिरहेको मारुतीको ट्याक्सी आठ सय सीसीको हो । यसअघि एक हजार दुई सय सीसीको टोयोटाको ड्याटशन, त्यसपछि डेउ र हुण्डाईका ट्याक्सी आए पनि मारुतीभन्दा दुई गुना बढि महंगो, तेल पनि डेढ गुना बढि खाने र काठमाडौंका साना गल्लीहरुमा पनि मारुती जसरी सजिलै नहिँड्ने भएकाले ट्याक्सीको रुपमा असफल भएका थिए । मारुतीको नयाँ ट्याक्सीले अहिले करिव १९ लाख रुपियाँ पर्छ । तर ट्याक्सी किन्दा सलामीदेखि कमशिन नै १० लाख भन्दा बढि बुझाउनुपर्ने बाध्यता रहेकाले लागत झण्डै ३० लाख पुग्ने ट्याक्सी व्यवसायीहरुले बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement