काठमाडौँ । नेपालकै पहिलो राष्ट्रिय स्तरको पूर्वाधार विकास बैंकको रुपमा स्थापना भई गत फागुन महिनाबाट कारोबार प्रारम्भ गरेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको प्रथम वार्षिक साधारण सभा आईतबार सम्पन्न भएको छ ।
होटल र्याडिसन, लाजिम्पाट काठमाडौंमा सम्पन्न उक्त सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरु रामशरण पुडासैनी, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र नुमनाथ पौडेलको उपस्थिति रहेको थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे लगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
उक्त सभालाई सम्बोधन गर्दै बैंक सञ्चालक समितिका अध्यक्ष अग्रवालले बैंकले समीक्षा अवधिसम्म हासिल गरेका उपलब्धिहरु, चालु आवको लागि तय गरिएका योजना तथा लक्ष्यहरु एवम् भावी रणनीति बारे शेयरधनीहरुलाई जानकारी गराए ।
चुक्ता पूँजी रु.१२ अर्ब, प्रतिशेयर आम्दानी रु.६.१०, प्रतिशेयर नेटवर्थ रु. १०६.५७ रहेको बैंकको उक्त सभाले नियमनकारी निकायको स्वीकृति पश्चात जारी गर्ने गरी आठ अर्ब रुपैंयाको आठ करोड कित्ता सर्वसाधारण शेयर(आइपीओ) निष्काशन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
नेपाल सरकारबाट मनोनित १ जना सञ्चालक बाहेक संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने अन्य ३ जना सञ्चालकहरुको निर्वाचनको कार्यक्रम रहेको उक्त सभाबाट अनुज अग्रवाल, चन्द्रप्रसाद ढकाल र लालमणि जोशी आगामी ४ वर्षे कार्यकालको लागि सञ्चालकमा निर्विरोध निर्वाचित भएका छन् । रामशरण पुडासैनी नेपाल सरकारबाट मनोनित सञ्चालक हुन् ।
मुलुक भित्र तथा मुलुक बाहिरबाट दीर्घकालीन स्रोत संकलन गरी देशको पूर्वाधार विकासका परियोजनाहरुमा मात्र लगानी गर्ने उद्देश्य लिई स्थापना भएको बैंकले विदेशी वित्त बजारबाट रु. ५ अर्ब भित्र्याउने कार्य अघि बढाइसकेको छ । स्रोत परिचालन तर्फ २ वटा जलविद्युत् आयोजनाहरुमा रु. ३ अर्ब लगानी स्वीकृत गरिसकेको छ भने सौर्य उर्जा, होटल, रिसोर्ट, फनपार्क, केवलकार, शिक्षा, स्वास्थ्य लगायतका अन्य विभिन्न पूर्वाधारका परियोजनाहरुको पहिचान एवम् आवश्यक अध्ययन गरिरहेको छ । उक्त परियोजनाहरुलाई आवश्यक स्रोत संकलन गर्दै निकट भविष्यमै लगानी विस्तार गर्दे जाने बैंकको योजना रहेको छ ।