प्राधिकरणले बनाएको माथिल्लो तामाकोशी लम्बिएको लम्बिएै, अझै झण्डै डेढ बर्ष कुर्नुपर्ने

Advertisement

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजना सञ्चालनमा आउन अझै कम्तीमा १५ महिना लाग्ने भएको छ । पटक–पटक अवधि थपेर आगामी असारसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको तामाकोसी उक्त समयमा कुनै हालतमा पूरा नहुने देखिएको छ । ठेकेदार कम्पनीहरू खासगरी टेक्सम्याकोले आयोजनाको ठाडो सुरुङ (भर्टिकल साफ्ट)मा पेनस्टक पाइप जडान गर्न ढिलाइ गरिरहेकाले आयोजना सञ्चालनमा आउन अझै सवा वर्षभन्दा बढी समय लाग्ने भएको हो ।

गत असारदेखि सुरु भएको ठाडो सुरुङमा पेनस्टक पाइप जडान गर्ने काम माघसम्म ८ महिना)मा सक्ने लक्ष्य थियो । आयोजनाका संरचनाको फिनिसिङ, परीक्षणलगायत कार्य ०७६ को चैतभित्र पूरा गरी ०७७ असारभित्र पहिलो युनिट (७६ मेगावाट)बाट विद्युत् उत्पादन गर्ने लक्ष्य थियो । तर, अहिलेकै गतिमा काम हुने हो भने दुईवटै ठाडो सुरुङमा पेनस्टेक जडानका लागि मात्र झन्डै १३ महिना लाग्ने देखिएको छ । पाइप जडानपछि फिनिसिङ तथा परीक्षण कार्य सक्न कम्तीमा २ महिना लाग्ने अनुमान छ । यसरी अहिलेकै गतिमा काम भएमा १५ महिनाअघि आयोजना सञ्चालनमा नआउने देखिएको हो ।

माथिल्लो ठाडो सुरुङमा पाइप जडान सक्न अझै १२ महिना
आयोजनाको ३१० मिटर गहिरो माथिल्लो ठाडो सुरुङ जडान कार्य लट २ को ठेक्का प्याकेजअन्तर्गत हाइड्रो मेकानिकल सामनको आपूर्ति तथा जडान कार्यको ठेकेदार भारतीय कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले गरिरहेको छ । ६ महिनामा उक्त कम्पनीले ६२.५ मिटर मात्र पाइप जडान गरेको छ । आयोजनाका प्रवक्ता डा। गणेश न्यौपानेका अनुसार उक्त कम्पनीले ३.६ मिटर चौडाइ, ५ मिटर लम्बाइ र १८ टन तौलका २ वटा (१० मिटर) पाइप जडान गर्न ११ दिनदेखि २० दिनसम्म लगाएको छ । औसतमा १० मिटर पाइप जडान गर्न १५ दिन लगाएको छ । यो गतिलाई आधार मान्ने हो भने बाँकी २४८ मिटर पाइप जडान गर्न ३ सय ७२ दिन अर्थात् एक वर्ष ७ दिन लाग्छ ।

नयाँपत्रिका दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement