काठमाडौँ-निजगढ द्रुतमार्ग निर्माणमा २७ हजार रूख काटिए, एक लाख ५० हजार बिरुवा रोप्ने तयारी

Advertisement

काठमाडौँ । नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका छन् । करिब ७७ किलोमिटर निजगढ-काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा सडक निर्माण क्षेत्रमा पर्ने करिब ३८ हजार ६६४ रूखमध्ये २७ हजार ६९ रूख काटिएका आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख तथा प्रमुख सेनानी विश्वबन्धु पहाडीले बताए ।

तत्काल उक्त सङ्ख्यामा रूख काट्नै पर्ने उनको भनाइ छ । बाँकी रहेका ११ हजार एक सय रूख अहिले नकाट्दा हुने उनले बताए । बाँकी रहेका ११ हजार एक सय रूख सुरुङ निर्माणका क्रममा काटिने बताए । सडक निर्माणको सिद्धान्तअनुसार पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा एक सय मिटरसम्मका रूख काट्नुपर्ने भनी वन मन्त्रालयसँग अनुमति लिइएको आयोजना कार्यान्वयन माहाशाखाका प्रमुख पहाडीले बताए ।

द्रुतमार्ग निर्माणका क्रममा काटिएका रूखको व्यवस्थापनका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको सेनाले जनाएको छ । वन मन्त्रालय मातहत रहेर काटिएका रूख जिल्ला वन कार्यालयमा र सामुदायिक वन मातहतमा रहेका तथा काटिएका रूख सामुदायिक वनलाई सरोकारवाला निकायको रोहवरमा बुझाइएको सेनाले जनाएको छ ।

वातावरणीय मापदण्डअनुसार एक रूख काट्दा २५ रूख रोप्नुपर्ने भएका कारण नेपाली सेनाले निजगढ र राजदरबारमा करिब एक लाख ५० हजार बिरुवा उत्पादन गरिरहेको छ भने सेनाले काटिएका रूखको ठाउँमा वृक्षरोपणको काम पनि शुरु गरिसकेको छ । त्यसअनुसार कोहल्वी नगरपालिकाका विभिन्न स्थानमा करिब पाँच हजार बिरुवा रोपिसकेका जनाइएको छ । बिरुवा उत्पादन गरिसकेपछि रोप्ने स्थानको छनोटको काम पनि निरन्तर भइरहेको सेनाले जनाएको छ । रासस

Advertisement

Advertisement

Advertisement