अतिरिक्त महशुल नतिरे शिवमको लाइन काट्छौंः प्राधिकरण, काटोसः मोर

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मंगलबारसम्म डेडिकेटेड फिडरमार्फत विद्युत उपयोग गरेवापतको अतिरिक्त महशुल नबुझाए शिवम सिमेन्ट उद्योगको लाइन काट्ने बताएको छ ।

प्राधिकरणको हेटौंडा कार्यालय प्रमुख यागेन्द्र ठाकुरले आफूहरुले महशुल बुझाउन पटक पटक ताकेता गरिसकेको जनाउँदै यो अन्तिम पटक भएको बताए । उनले आफूहरुले दिएको अन्तिम मौका भोलि मंगलबारसम्म रहेकोले भोलिसम्म महशुल नबुझाए उद्योगको लाइट काट्ने बताए ।

प्राधिकरणका अनुसार शिवम सिमेन्टले जरिवानाबाहेक नै एक अर्ब २१ करोड रुपियाँ अतिरिक्त महशुल बुझाउन बाँकी छ । ठाकुरले महशुल उठाउन अदालतले पनि बाटो खोलिदिएकोले प्राधिकरणको नियमावलीअनुसार नै महशुल तिर्न बिल काटिएको बताउँदै यसअघि नै लाइन काट्न खोज्दाखेरी उद्योगले अदालतबाट अन्तिम आदेश ल्याएकाले नकाटिएको बताए ।

उनका अनुसार डेडिकेटेड फिडरमार्फत विद्युत उपयोग गर्ने अन्य उपभोक्ताले नियमितरुपमा महशुल बुझाइरहेको दावी गर्दै शिवमले मात्रै आनाकानी गरेको जिकिर गरे ।

काटोसः मोर
शिवम सिमेन्टका लगानीकर्तासमेत रहेका नेपाल उद्योग परिसंघका अध्यक्ष सतिषकुमार मोरले तिर्नै नपर्ने महशुलका लागि गैरकानुीरुपमा प्राधिकरणले लाइन काट्छ भने काटोस भने । उनले भने, ‘काट्छ भने काटोस्, यो मुलुकमा हाम्रो कुरा कसैले सुन्दैन्, कसैसँग विवेक छैन्, नियम मान्नु पर्दैन भने हामीले जति कराए पनि के गर्नु ?

मोरले लोडसेडिङको समयमा शिवम सिमेन्टले २० घण्टाभन्दा बढि विजुली चाहियो भनेर प्राधिकरणलाई निवेदन दिने र सोअनुसार प्राधिकरणले आफूहरुसँग कुनै सम्झौता नगरिकनै अहिले आएर अतिरिक्त महशुल माग्ने कुरा गैरकानुनी र गैरजिम्मेवार कुरा हो भन्दै सरकार र सरकारी निकायहरुलाई नयाँ उद्योग खोल्नेभन्दा भएका उद्योग पनि बन्द गराउनु छ भने लाइन काट्दा हुन्छ भने ।

Advertisement

Advertisement

Advertisement