अख्तियार एक्सनः धादिङ र भक्तपुर मालपोतका घुस्याहा कर्मचारी विरुद्ध मुद्दा दर्ता

Advertisement

काठमाडौँ । मालपोत कार्यालय धादिङका तत्कालीन मालपोत अधिकृत कुशध्वज खत्री सहितका ७ जना विरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता भएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दर्ता गरेको हो ।

मातपोत कार्यालय तत्कालीन मालपोत अधिकृत खत्री, नायब सुब्बा शम्भुनारायण राजभण्डारी, अनन्तराज सत्याल, नापी कार्यालय धादिङका तत्कालीन सर्भेक्षक विश्वकुमार बस्नेत र अमिन भीमप्रसाद श्रेष्ठ तथा जग्गाधनीहरु नानु अधिकारी र अशोक अधिकारी विरुद्ध मुद्दा दर्ता गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।

मालपोत कार्यालय धादिङका कर्मचारीहरुको मिलेमतोमा मलेखु धादिङ कालु पाण्डे सडकमा जोडिएको साविक मुरलीभञ्ज्याङ गाविस वडा नम्बर २ को कित्ता नम्बर ७७९ को जग्गामा अमरावती सामुदायिक वनको जग्गा घुसाई ठूलो धनराशी खर्च गरी उक्त कित्ताको क्षेत्रफल बढाएको पाइएको छ ।

राष्ट्र सेवक कर्मचारी र जग्गाधनी समेतका व्यक्तिहरुको मिलेमतो र संलग्नतामा आफ्नो पदको दुरुपयोग गरी सरकारी श्रेस्ता गैरकानूनी रुपमा सच्याई, नक्सा समेत बढाई सरकारी, सार्वजनिक सम्पत्ति हानी नोक्सानी हुने र व्यक्ति विशेषलाई गैरकानूनी लाभ एवम् प्रत्यक्ष फाइदा पुर्याउने भ्रष्टाचारजन्य कसुर गरेको प्रमाणित भएपछि मुद्दा दर्ता गरिएको प्रवक्ता कोइरालले बताए ।

मातपोत कार्यालय तत्कालीन मालपोत अधिकृत खत्री, नायब सुब्बा राजभण्डारी, सत्याल, नापी कार्यालय धादिङका तत्कालीन सर्भेक्षक बस्नेत र अमिन श्रेष्ठलाई ९ लाख ४ हजार ५ सय बिगो कायम गरी मुद्दा दायर गरिएको छ भने जग्गाधनी नानु अधिकारी र अशोक अधिकारीलाई समेत ९ लाख ४ हजार ५ सय रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

यसैगरी, भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरका नायव सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम बिरुद्ध पनि आयोगले मंगलबार नै विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

उक्त कार्यालयका नायब सुब्वा मिश्रले सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी (करार) गौतमलाई ४० हजार घुस माग गरेको भन्ने सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिएको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिएको थियो । घुस सहित पक्राउ परेका दुबैलाई कैद सजायको दाबी सहित मुद्दा दायर गरिएको हो ।

यता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका रजिष्ट्रार तुलबहादुर श्रेष्ठ समेत ४ जना बिरुद्ध पनि मंगलबार नै विशेष अदालतमा मुद्दा दर्ता भएको हो । आयोगका प्रवक्ता कोइरालाका अनुसार बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान सुनसरीले विल भरपाई नराखी भौचरसमेत नउठाई प्रतिष्ठानको रकम हिनामिना गरी भ्रष्टाचार गरेको उजुरी आयोगमा परेको थियो ।

उक्त उजुरी माथि अनुसन्धान हुँदा रजिष्ट्रार श्रेष्ठ, आर्थिक प्रशासन प्रमुख रूपा सिंघाची अग्रवाल, सिनियर कलर्कद्वय चन्द्रकुमार मगर र रमेशकुमार खतिवडासमेतको मिलोमतोमा बिल भरपाई बिना नै जीबन पौडेलको नाममा चेक जारी ५ लाख ५० हजार सरकारी रकम हिनामिना गरेको पुष्टी भएपछि मुद्दा दर्ता गरिएको प्रवक्ता कोइरालाले बताए ।

Advertisement

Advertisement

Advertisement