बीमा समितिले जारी गर्यो घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन

Advertisement

काठमाडौँ । बीमा समितिले शाखारहित घुम्ती बीमा सेवा सम्बन्धी मार्गदर्शन २०७६ जारी गरेको छ । आम जनता समक्ष सहज ढंगले न्यूनतम लागतमा घरदैलोमा नै विभिन्न माध्यमबाट बीमा सुबिधा पुर्याउनु उपयुक्त भएकाले बीमा ऐन २०४९ को दफा ८(घ२) ले दिएको अधिकारी प्रयोग गरी उक्त मार्गदर्शन पुस २५ गते जारी गरिएको बीमा समितिले जनाएको छ ।

उक्त मार्ग दर्शन अनुसार बीमकले घुम्ती सेवा उपलब्ध गराउन सक्नेछन् । घुम्ती बीमा सेवा उपलब्ध गराउँदा बीमकले समितिबाट स्वीकृत बीमालेख बिक्री गर्नु पर्ने उक्त मार्गदर्शनमा उल्लेख छ । घुम्ती बीमा सेवामा लघुबीमालाई प्राथमिकता दिनु पर्नेछ । सावधिक जीवन बीमा, म्यादी जीवन बीमा, कृषि बीमा, लघुबीमा, दुर्घटना बीमा र ५० लाख सम्मको घरबीमा घुम्ती बीमा सेवामा गर्न सकिने छ ।

घुम्ती बीमा अन्तरगत पाँच लाख भन्दा बढी बीमाङ्क कायम भएकोले कुनैपनि जीवन बीमा, एकल बीमा शुल्क भएको जीवन बीमा र बैदेशिक रोजगारी म्यादी जीवन बीमा गर्न पाइने छैन । त्यसैगरी निर्जीवन बीमा व्यवसाय गर्ने बीमकले घुम्ती सेवा अन्तरगत सामुन्द्रिक बीमा, हवाई बीमा, इञ्जिनियरिङ बीमा र मोटर बीमा भने गर्न पाइने छैन ।

घुम्ती बीमा सेवा प्रदान गर्नु पर्ने क्षेत्र
बीमकले महानगरपालिका वा उपमहानगरपालिका भित्र घुम्ती बीमा सेवा उपलब्ध गराउन पाउने छैन । तर, जीवन बीमा व्यवसाय गर्ने बीमकले महानगरपालिका वा उपमहानगरपालिका भित्र रहेका सीमावर्ती वार्डहरुमा भने घुम्ती बीमा सेवा उपलब्ध बाधा पुगेको मानिने छैन–मार्गदर्शनमा उल्लेख छ ।

निर्जीवन बीमा व्यवसाय गर्ने बीमकका लागि कृषि तथा पशुपन्छी बीमा जारी गर्ने प्रयोजनका लागि तोकिएका जिल्लाहरुमा सम्बन्धित बीमकले अनिवार्य रुपमा घुम्ती सेवा सञ्चालन गर्नु पर्नेछ । मार्गदर्शनमा उल्लेख भएअनुसार बीमकले घुम्ती बीमा सेवा सञ्चालन गर्नका लागि संलग्न कर्मचारीको दुर्घटना बीमा गर्नु पर्ने र बीमकले घुम्ती बीमा सेवा सञ्चालनका लागि प्रयोग भएका सवारी साधन तथा अन्य सम्पत्तिको बीमा गर्नु पर्नेछ ।

बीमकले सवारी साधनमा वा पैदल हिँडेर वा कुनै निश्चित स्थानमा बसेर वा घरदैलो कार्यक्रम गरेर वा अन्य कुनै तरिकाले कुनै ग्राहक भएको स्थानमा पुगी घुम्ती बीमा गराउनु पर्नेछ । साथै घुम्ती बीमा सेवा सञ्चालन गर्दा उक्त सेवा सञ्चालन गरिने स्थान नजिक रहेको शाखा कार्यालयमा छुट्टै घुम्ती बीमा डेस्क स्थापना गर्नु पर्नेछ । घुम्ती बीमा सेवा प्रदान गर्दा बीमकको कर्मचारीको प्रयोग गर्नु पर्ने मार्गदर्शनमा उल्लेख छ ।

नेपाल इस्योरेन्सले सुरुवात गरेको घुम्ती बीमा सेवालाई बीमा समितिले मार्गदर्शनका रुपमा जारी गरेकोमा खुशी व्यक्त गरेको छ । हरेक नेपालीको घर आँगनमा बीमाको पहुँच विस्तार गर्ने नेपाल इन्स्योरेन्सको अभियानलाई नियामक निकायले साथ दिएको नेपाल इन्स्यारेन्स कम्पनीका डेपुटी जेनेरल म्यानेजर बिक्रान्त पाण्डेले बताएका छन् ।

Advertisement

Advertisement

Advertisement