सवारी लाइसेन्सको ट्रायलमा सहभागी पाँच नक्कली परीक्षार्थी पक्राउ

Advertisement

काठमाडौँ । नक्कली कागजात बनाई सवारी चालक अनुमति प्रमाणपत्रको प्रयोगात्मक(ट्रायल) परीक्षा दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रयोगात्मक परीक्षाहरुमा नक्कली प्रशिक्षार्थीहरुले परीक्षा दिने गरेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथबाट खटिएको टोलीले मंगलबार कालिकोट खाडाचक्र नगरपालिका घर भई हाल काठमाडौँ चावहित बस्ने १९ वर्षीय वीरेन्द्र मल्ल र महावै गाउँपालिका वडा नम्बर ५ घर भई काठमाडौँ सुकेधार बस्ने ३० वर्षीय दीपक शाहीलाई पक्राउ गरेको हो ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठका अनुसार काठमाडौँ चन्द्रागिरी नगरपालिका गुर्जुधारा स्थित भेईकल एकेडेमी एण्ड रिसर्ज सेन्टर प्रालि ड्राइभिङ सेन्टरमा सवारी चालक अनुमति पत्र लिनको लागि नेपाली नागरिकता लगायत सरकारी कागजात नक्कली बनाई फरक व्यक्तिहरुले ट्रायल परीक्षा दिइरहेको अवस्थामा ती व्यक्तिहरुलाई पक्राउ गरिएको हो ।

उक्त ड्राइभिङ सेन्टरबाट नक्कली कागजात बनाउने प्रयोग भएका ल्याब टप, प्रिन्टर जस्ता सामाग्री बरामद भएको महाशाखाले जनाएको छ ।

त्यसैगरी, महाशाखाले पुस २ गते भक्तपुर ट्रायल सेन्टरमा थमल बस्नेतको ट्रायल दिन आएका गुल्मी अमरपुरी–७ घर भई सोह्र खुट्टे बस्ने २७ वर्षीय रेशम बस्नेत, सुकेधारा ट्रायल सेन्टरबाट रमेश थापाको ट्रायल दिन आएका भक्तपुर सूर्यबिनायक बस्ने १९ वर्षीय जयराम श्रेष्ठलाई र एकान्तकुना ट्रायल सेन्टरमा चन्द्रबहादुर गुरुङको ट्रायल दिन आएका जडिबुटी बस्ने २६ वर्षीय कर्णबहादुर बिकलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement