काठमाडौं । १८०० मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी एनसेलले पाएको छ । बुधबार सोल्टी क्राउन प्लाजामा नेपालमै पहिलो पटक भएको फ्रिक्वेन्सी बोलकबोलको अन्तिम अर्थात् तेस्रो राउण्डमा प्रतिस्पर्धी कम्पनीभन्दा बढी मूल्य कबोल गरेपछि बाँकी फ्रिक्वेन्सी एनसेलले पाएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
बोलकबोलको क्रममा नेपाल टेलिकमले ५ करोड १ हजार प्रस्ताव गर्दा एनसेलले ५ करोड ८० लाख रुपियाँ बढी तिर्ने बताएको थियो । ५ करोड ८० लाख प्रस्ताव गरेको एनसेलले टेलिकमलाई पछाडि पार्दै फ्रिक्वेन्सी हासिल गरेको हो ।
दूरसञ्चारको बाँकी फ्रिक्वेन्सी व्यवस्थापन गर्न १ वर्षअघि प्रक्रिया चालिए पनि अदालतमा मुद्दा परेपछि रोकिएको थियो । १८०० ब्याण्डमा कुल ७५ मेगाहर्जमध्ये १६ मेगाहर्ज फ्रिक्वेन्सी बाँकी छ । यो ब्याण्डमा एनसेलले ११ मेगाहर्ज, युटीएल र स्मार्ट टेलिकमले १२/१२ मेगाहर्ज , नेपाल टेलिकमले १५ मेगाहर्ज र नेपाल स्याटलाइटले ९ मेगाहर्ज फ्रिक्वेन्सी प्रयोग गरिरहेका छन् ।
१८०० ब्यान्ड खरिदका लागि पहिलो चरणमा प्रति मेगाहर्ज ३ करोड ६० लाख रुपियाँ आधार मूल्य तोकिएको थियो । फ्रिक्वेन्सी बिक्रीको बोलकबोल नेपालमा पहिलोपटक भएको हो । प्राधिकरण ९००, १८०० र २१०० ब्यान्डको बाँकी फ्रिक्वेन्सी बढाबढको प्रक्रियामा छ । जसमध्ये बुधबार १८०० ब्यान्डको बाँकी फ्रिक्वेन्सी अक्सनमै बिक्री भएको हो ।