प्याजको विकल्पमा मेथी र जिरा

Advertisement

पर्वत । प्याजको अभाव झेल्दै आएका पर्वतवासीले यसको विकल्पमा विभिन्न चीज प्रयोग गर्न थालेका छन् । मुख्यगरी तरकारीजन्य परिकार, मासुजन्य परिकार, अचार, मःम, चुकौनी लगायतमा प्याजको प्रयोग हुने गर्दछ ।

प्याजको विकल्पमा जिरा, मेथी लगायत अन्य चिज प्रयोग गर्न थालिएको सदरमुकामस्थित हिमाल होटलका सञ्चालक झलक आचार्यले जानकारी दिए । उनले भने ‘तरकारी तथा अचारमा प्याजको सट्टा जिरा, मेथी, दालमा लम्बु, प्रयोग गर्न सुरु गरेका छौ ।’ कुखुराको मासु र प्याजको मूल्यसमेत बराबरी जस्तै भएपछि होटलमा खान आउने ग्राहकलाई समेत प्याज प्रयोग नहुने परिकार खान आग्रह गरिदै आएको छ ।

पर्वतको ठूलीपोखरीकी राधा सापकोटाले भने, ‘घरमा लगाएको प्याज असारमै सकियो । बजारमा महङ्गीले प्याज किनिसाध्ये छैन । अहिले लसुन, मेथी, जिरा पड्काउन थालिएको छ ।’

कटुवाचौपारीकी शोभा ढकालले पनि प्याज राखेको परिकार नखाएको लामो समय भएको बताए। ‘अघिल्लो वर्ष फलेका प्याज सकिए, बल्ल लगाउने सिजन भएको छ त्यसपछि खान पाईएला तर बजारबाट किनेर खाइसाध्ये नभएर किनिएको छैन ।’उनले भने ।

कुश्मा बजारमा अहिले प्याजको मूल्य रु २०० रहेको छ । ग्रामीण बजारमा रु २२० सम्म लिने गरेका छन् । ‘प्याज निकै महङ्गो छ, खासै बिक्री हुँदैन’, कुश्मा बजारका किराना व्यवसायी दामोदर पौडेलले भने ।

निकै न्यूनमात्रामा बिक्री हुने र नाफा पनि खासै नहुने भएकाले तीन/चार महिनादेखि प्याज बिक्री गर्नै छाडेको तरकारी व्यवसायी ज्ञानेन्द्र बास्तोलाले जानकारी दिए । उनले भने, ‘प्याज खानभन्दा माछा मासु खान सस्तो भयो । आजकल त कसैले किन्दैनन् । बिक्री गर्न छाडियो । बरु प्याजको सट्टा जिरा र मेथीको बिक्री बढेको छ ।’

Advertisement

Advertisement

Advertisement