परिसंघको टोलीले नयाँ श्रममन्त्रीलाई दियो बधाई र शुभकामना

Advertisement

काठमाडौं । नेपाल उद्योग परिसंघको टोलीले नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवलाई भेटी बधाई तथा शुभकामना दिएको छ ।

भेटमा परिसंघका अध्यक्ष सतिशकुमार मोरले उद्योगी–व्यवसायी र श्रमिक तथा श्रमिक संगठनहरुसँग विश्वासको वातावरण बनेको अवस्थामा रोजगारी सिर्जना तथा दक्ष जनशक्ति निर्माणमा सहकार्य केन्द्रित हुनुपर्ने बताए ।

स्वदेशमै दक्ष जनशक्तिको अभाव हुँदा त्यसको प्रत्यक्ष असर नयाँ लगानी र चालु उद्योगमा समेत परेको भन्दै उनले रोजगारी सिर्जना र दक्ष जनशक्ति उत्पादनमा परिसंघले मन्त्रालयसँग सघन साझेदारीका लागि प्रतिवद्ध रहेको बताए ।

सँगसँगै सामाजिक सुरक्षा योजना कार्यान्वयनमा देखिएका समस्या समाधानका लागि परिसंघको विशेषज्ञ कार्यदलले तयार गरेको लिखित सुझाव पनि मन्त्री यादवलाई पेश गरिएको थियो । अध्यक्ष मोरले परिसंघका सुझावहरु कार्यान्वयन गर्न आग्रह गर्दै श्रमिकले पाउने प्रतिफल र वित्तिय सुरक्षा ग्यारेण्टि भए मात्र सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी कार्यान्वयन हुनसक्ने बताए ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री यादवले उद्योगी र श्रमिकबीच सौहार्दपूर्ण वातावतरण भए आर्थिक क्षेत्रको उत्पादकत्व पनि बढ्ने र यसले मन्त्रालयको उद्देश्य पनि पूरा हुने बताए । यसैगरी मन्त्री यादवले सामाजिक सुरक्षा कार्यक्रममा देखिएका व्यवहारिक समस्या समाधान गरिने बताए ।

Advertisement

Advertisement

Advertisement