पेप्सी उत्पादक बरुण वेभरेजविरुद्ध झण्डै एक अर्ब ९५ करोड रुपियाँ राजश्व छलीको मुद्दा

Advertisement

काठमाडौं । पेप्सी ब्राण्डको हल्का पेय पदार्थ उत्पादन गर्ने बरुण बेभरेजले झण्डै ६५ करोड रुपियाँ कर छली गरेको खुलासा भएको छ । राजश्व अनुसन्धान विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै कम्पनीको कर छलीको विवरण सार्वजनिक गरेको हो ।

विभागले बिहीबार पत्रकार सम्मेलन गरी बरुण वेभरेजले खुद्रा तथा नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजकको प्रयोग गरी ६४ करोड ९६ लाख रुपियाँ कर छली गरेकोले यसका पूर्व तथा वर्तमान सञ्चालक अमित गुप्तासमेत सात जनाविरुद्ध बिगो तथा बिगोको दोब्बरसमेत गरी कुल एक अर्ब ९४ करोड ८८ लाख रुपियाँसम्म जरिवानाको माग गर्दै मुद्दा दायर गरिएको जानकारी दिएको हो ।

विभागका महानिर्देशकले उनीहरुविरुद्ध तीन बर्ष कैद सजायको पनि माग दावी गर्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको जानकारी दिए । बरुण वेभरेज (स्थायी लेखा नम्बर ३०००४५४९५)ले राजश्व चुहावट गर्ने दुरासय राखी झुट्टा तथा नक्कली कर विजक कारोबार गर्नेहरुसँग मिलेमतो गरी वास्तविकरुपमा मालवस्तु खरिद नै नगरी झुट्टा तथा नक्कली कर विजक खरिद गरेर राजश्व चुहावट गरेको बताए ।

पेप्सी बहुराष्ट्रिय कम्पनीको उत्पादन हो । यस्तो कम्पनीविरुद्ध यति ठूलो सजाय मागदावीसहित मुद्दा हालिएको संभवतः पहिलो हो । महानिर्देशक मैनालीले राजश्व चुहावट ऐन, २०५२ अनुसार बरुण वेभरेजले कसुर गरेको पुष्टी भएकाले कम्पनीबाट एक अर्ब ६० करोडको बैंक जमानत लिई यसका प्रतिवादीहरु बरुण बेभरेजका पूर्व तथा वर्तमान सञ्चालकहरुविरुद्ध ६४ करोड ९६ लाख रुपियाँ राजश्व चुहावट गरेको अभियोगमा मुद्दा दायर गरिएको बताए ।

कम्पनीले आर्थिक बर्ष २०७०/७१ देखि २०७५/७६ सम्म झुट्टा तथा भ्याट बिजकको कारोबारबाट भ्याटतर्फ २५ करोड ३४ लाख र आयकरतर्फ ३९ करोड ६१ लाख रुपियाँ राजश्व छली गरेको अनुसन्धानबाट फेला परेको विभागको भनाई छ ।

भ्याट र आयकर छलीको कुल रकमलाई बिगो कायम गरी दोब्बर जरिवानासहित मुद्दा दर्ता गरिएको हो । मुद्दाका प्रतिवादी कम्पनीका पूर्व तथा वर्तमान सञ्चालकहरुमा अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन अग्रवाल विनोद सिंह, अशोक कुमार छन् ।

Advertisement

Advertisement

Advertisement