मुक्तिनाथ विकास बैंकका अध्यक्ष ढकालले राष्ट्र बैंकका डेपुटी गभर्नरबाट लिए सपथ

Advertisement

काठमाडौँ । मुक्तिनाथ विकास बैंक सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले विहीबार सपथ ग्रहण गरेका छन् । समितिका नवनिर्वाचित अध्यक्ष ढकालले नेपाल राष्ट्र बैंकमा आयोजित एक समारोहमा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । साथै, अन्य नवनिर्वाचित सञ्चालकहरुलाई समितिका अध्यक्ष ढकालले सपथ ग्रहण गराएको बैंकको सूचना अधिकारी तिलबहादुर गुरुङले जनाएका छन् ।

बैंककोे तेह्रौं वार्षिक साधारण सभाले आगामी चार वर्षको लागि नयाँ सञ्चालक समितिको चयन गरेको हो । साधारण सभाले संस्थापक सेयरधनीका तर्फबाट भरतराज ढकाल, गजेन्द्र मान श्रेष्ठ र रविन्द्रमान श्रेष्ठ तथा सर्वसाधारण सेयरधनीका तर्फबाट निर्मलाकुमारी के.सी. (कार्की) र शालिग्राम मिश्रलाई सञ्चालकमा सर्वसम्मत चयन गरेको हो ।

बैंकले विभिन्न क्षेत्रमा लामो अनुभव भएका प्रतिष्ठित व्यक्तिहरुलाई सञ्चालकको रुपमा पाएको जनाएको छ । नवगठित सञ्चालकहरुको पहिलो बैठकले यस बैंकको स्थापनाकाल देखि १२ वर्षसम्म प्रमुख कार्यकारी अधिकृत रहेका ढकाललाई सर्वसम्मत अध्यक्षको रुपमा चयन गरेको हो ।

मुक्तिनाथ विकास बैंकले हाल ४२ जिल्लामा १३४ वटा शाखाहरु मार्फत ग्राहकका आवश्यकता बमोजिमका सबै प्रकारका बचत निक्षेप तथा कर्जा सेवाहरु प्रदान गर्दै आई रहेको छ । साथै, प्रविधिमा आधारित रही मोबार्ईल बैंकिङ्ग, क्यूआर पेमेन्ट, एटिएम, अनलाईन बैंकिङ्ग लगायतका सेवाहरु पनि प्रदान गरिरहेको प्रमुख सूचना अधिकारी गुरुङले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement