आफूलाई जेलमुक्त गर्न महराले गरेको निवेदनलाई उच्च अदालतले पनि मानेन्

Advertisement

काठमाडौँ । आफूलाई पुर्पक्षका लागि थुनाामा राख्ने जिल्ला अदालतको निर्णय बदरको माग गर्दै पूर्वसभामुख कृष्णबहादुर महराले गरेको निवेदनलाई उच्च अदालत पाटनले अस्वीकार गरेको छ । बलात्कार प्रकरणमा मुछिएका महरालाई थुनामै राख्न उच्च अदालतले आदेश गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश टेकबहादुर कुँवरको इजलासले जिल्ला अदालत काठमाडौंको गत कार्तिक १८ गतेको आदेशलाई सदर गरेको हो । जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा महरा कसुरमा संलग्न होइनन् भन्नसक्ने अवस्था नरहेकोले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

जिल्ला अदालतको आदेशपछि डिल्लीबजार कारागारमा दिन बिताइरहेका महराले उक्त आदेश बदरका लागि निवेदन दिएका थिए । उनले आफूलाई कानूनी आधारविना पुर्पक्ष थुनामा पठाएको भन्दै आदेश बदरको मागसहित निवेदन दिएका थिए । तर उच्च अदालतले उनको निवेदनलाई खारेज गर्ने काम गरेको छ ।

उच्च अदालतले निवेदन अस्वीकार गरे पनि सर्वोच्च अदालतमा पुनः निवेदन दिने बाटो महरालाई अझै बाँकी छ । महराले आफ्नै संसद सचिवालयमा कार्यरत महिला कर्मचारी रोशनी शाहीको कोटेश्वरस्थित डेरामा गई उनीमाथि बलात्कारको प्रयास गरेका थिए ।

Advertisement

Advertisement

Advertisement