दरबारमार्गको अति महंगो जग्गा यति समूहलाई भाडामा दिँदा साढे पाँच अर्ब भ्रष्टाचार

Advertisement

काठमाडौँ । नेपाल ट्रस्टको दरबारमार्गस्थित जग्गा थामसेर्कु डेभलपर्सलाई भाडामा दिँदा पाँच अर्ब रुपियाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । थामसेर्कुले ३० वर्षको अवधिमा ६ अर्ब ९७ करोड रुपियाँ सरकारलाई दिने गरी प्रस्ताव पेस गरेकामा एक अर्ब ४० करोड रुपियाँ मात्रै तिरे पुग्ने सम्झौता भएको विवरण फेला परेको हो ।

दुई फरक निकायबाट प्राप्त कागजातअनुसार छ अर्ब ९७ करोड रुपियाँमा भवन बनाएर ३० वर्षसम्म सञ्चालन गर्ने प्रस्ताव थामसेर्कुले गरेको थियो । तर त्यसअनुसार सम्झौता नभएपछि ३० वर्षको अवधिमा पाँच अर्ब ५७ करोड रुपियाँ नोक्सानी हुने देखिएको हो । यस आधारमा वार्षिक झन्डै साढे १८ करोड रुपियाँ नोक्सानी हुने देखिन्छ ।

नेपाल ट्रस्टको सञ्चालक समिति बैठकले ०७१ साउन २८ मा दरबारमार्गको एक रोपनी १४ आना जग्गा भाडामा दिन स्वीकृत गरेको थियो । बोलपत्र आह्वान गर्दा ६ कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । तीमध्ये यति समूहको भगिनी संस्था थामसेर्कुले राखेको प्रस्ताव स्वीकृत भयो ।

थामसेर्कुकै लगानीकर्ताको यति समूहलाई नेपाल ट्रस्ट मातहत नै रहेको गोकर्ण रिसोर्ट र जंगल पनि आगामी २५ वर्षका लागि अति कम मूल्यमा लिजमा दिने मन्त्रिपरिषद्ले गत साता निर्णय गरेको छ ।

कान्तिपुर दैनिकबाट ।

Advertisement

Advertisement

Advertisement