पिपीएल क्रिकेटः विराटनगर टाइटन्सलाई १८ रनले पराजित गर्दै चितवनको चौँथो जीत

Advertisement

कास्की । पोखरामा मङ्सिर २९ गतेदेखि जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी २० क्रिकेट प्रतियोगितामा साविक उपविजेता चितवन राइनोजले लगातार चौँथो जीत निकालेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज प्रतियोगिताको आफ्नो चौथो खेलमा विराटनगर टाइटन्सलाई १८ रनले पराजित गरेसँगै चितवनले अपराजित यात्रालाई कायम राख्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गर्न सफल भयो ।

हारसँगै विराटनगरको भने अघिल्लो चरण पुग्ने सम्भावना निकै कमजोर बनेको छ । अघिल्लो दिनको खेलमा समेत काठमाडौंसँग पराजित भएको विराटनगरले जारी प्रतियोगितामा एक खेल मात्र जितेको छ ।

टस हारेर विराटनगरले फिल्डिङ रोजेपछि व्याटिङमा उत्रिएको चितवनले पूरै ओभर खेल्दै चार विकेटको नोक्सानीमा १४६ रनको मध्यमस्तरको स्कोर खडा गरेको थियो । विजयीका लागि १४७ रनको लक्ष्य पछ्याउने क्रममा १९ ओभरमा सबै विकेट गुमाएर विराटनगरले १२८ रनमात्र जोड्यो ।

आठौँ क्रममा विराटनगरको इनिङ्स सम्हाल्न आएका लोकेस बमले ३६ बलमा पाँच चौका र पाँच छक्कासहित ६२ रनको अर्धशतक प्रहार गरे पनि टोलीलाई जिताउन पर्याप्त रहन सकेन । पुनित मेहराले २६ बलमा २४ तथा नोमान खानले १६ बलमा १८ रन जोड्नुबाहेक विराटनगरका अन्य व्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सकेनन् ।

चितवनका करण केसी र भुवन कार्कीले समान तीन÷तीन, रोहन मुस्ताफाले दुई र सन्नी पटेलले एक विकेट लिनुभएको थियो । चितवनका आरिफ शेख अविजित रहँदै २३ बलमा ३९ तथा शुरुआती व्याट्सम्यान एवं टोलीका कप्तान पारस खड्काले ३८ बलमा ३५ रन जोड्नुभयो । सन्नी पटेल नटआउट आठ बलमा २७ तथा बाबर हायातले ३१ बलमा २५ रन जोडेका थिए ।

विराटनगरका जितेन्द्र मुखिया, किशोर महतो, पुनित मेहरा र मोहमद जैद आलमले समान एक÷एक विकेट लिनुभएको थियो । चितवन आठ अङ्क जोडेर समूहको शीर्ष स्थानमा रहेको छ भने काठमाडौं गोल्डेन वारियर्स बुटवल ब्लास्टर्सको समान चार अङ्क छ ।

विराटनगर, पोखरा पल्टन र एक्सपर्ट धनगढीको समान दुई÷दुई अङ्क छ । आजको दोस्रो खेलमा बुटवल र धनगढीले स्पर्धा गर्नेछन् । प्रतियोगिताको फाइनल खेल पुस १२ गते सञ्चालन हुने कार्यक्रम छ ।

Advertisement

Advertisement

Advertisement